Last modified on 28 जुलाई 2017, at 23:20

संस्मरण / विमला तुम्खेवा


उस्तै उदास थियो
त्यो दिन —
आत्मरतिमा रमाएर
किन हामी रम्न सकेनौ हँ
जीवन साँच्चै अस्पष्ट छ त ?

हरेक दिन —
तिम्रो यादमा कोरिएका यी कविताहरु
उस्तै प्रेममय छन्
त्यसदिन —
जसरी तिम्रो मौनतामा
समयको अन्तिम विन्दुलाई
संस्कारको सिमानाहरुलाई तोडेर
मसम्म आउन आतुर थिए

लाग्छ —
पाइतालाहरु पहाड चुम्न खोज्छन्
पहाड नदी बग्न खोज्छ
दुःखको भेलहरु बगाएर नदी न त कहिले थाकेकै छ

यो — उदिग्न र उजाड–उजाड
समयको एकपल पनि
भारी–भारी लाग्छ कि फूलसँगै
सधैँ किन काँडा बाँचेको होला
मसँग — अहिले
जीवन नबाँच्नुको पीडा छ

यस्तरी —
मान्छेको नाममा मुर्दा बाँचेको बेला
साँच्चै भन्नु हो भने
जीवनप्रति कुनै मोह छैन
उस्तै उदास थियो त्यो दिन जीवन साँच्चै अस्पष्ट छ त ?