Last modified on 10 अगस्त 2020, at 22:29

सकूँ / तुलसीबहादुर छेत्री

गर्न सकूँ निज देश, समाज र बान्धवको उपकार।
हर्न सकूँ सब दीन-दुःखीको क्लेश तापको भार।।

त्याग्न सकूँ यो द्वेष, कलह औ निन्दाको संसार।
फ्याँक्न सकूँ मनबीच रहेको अर्काको उपकार।।

पढ्न सकूँ यो सत्य अहिंसा गान्धी-गीता-सार।
गढ्न सकूँ सब शान्ति प्रेमको नयाँ एक संसार।।

टिक्न सकूँ निज सत्य वचनमा खप्तै दुःख हजार ।
सिक्न सकूँ जगमा निशिदिन नै उत्तम गुणको सार।।

गोड्न सकूँ जगहितको बिरुवा मानवता सुविचार।
छोड्न सकूँ यस जगत्मा केही अनुपम नव उपहार।।