Last modified on 5 मई 2017, at 15:58

सङ्गीतकार / कुन्ता शर्मा

सुदूरपूर्व बस्ने
मेरो एउटा साथी छ
जसले आफ्नो जीवनका धेरै वर्षहरू
काठमाडौँका चिसा छिँडीहरूमा बिताएको छ
ऊ मीठा–मीठा गीतहरू लेख्छ
ती गीतहरूमा अझै मीठो सङ्गीत भर्छ
आफ्नो झन् मीठो स्वरले गाउँदै हिँड्छ
गल्ली–गल्लीहरूमा, चोक–चोकहरूमा
गोठहरूमा, खर्कहरूमा
बाक्ला सल्लाघारीहरूमा
धुपीसल्लाका शीतल छायाहरूमा
खेतहरूमा, आली ताछिरहेका खेतालाहरूका बीचमा
उसका गीतहरूमा मार्तोल र छिनोहरू बज्ने गर्छन्
उसका गीतहरूमा कुटो र कोदालोहरू बज्ने गर्छन्
अनि अन्याय र अत्याचारमा निसास्सिएका
थिचिएका, मिचिएका
भोका र नाङ्गाहरूका कहानी बज्ने गर्छन्
जब आफ्ना कुशल औँलाहरूले
गितारका तारहरू छुन्छ ऊ
ती तारहरू झनन्न… बजिरहन्छन्
अनि ती सशक्त स्वरहरूले
परपरसम्मका मानिसहरू जुर्मुराउँछन्
यस्तो लाग्छ— पाखाका झुप्राहरू जुर्मुराउँछन्
नीलो आकाशका फराकिला आँखाहरू जुर्मुराउँछन्
नदीका छालहरू, पर्वत–शृङ्खलाहरू जुर्मुराउँछन्
उसका महान् विचारहरूलाई मानिसले चिनिसकेका छैनन्
उसका महान्आकाङ्क्षाहरूलाई
आत्मीय मित्रले पनि जानिसकेका छैनन्
एउटा यस्तो दिन पनि आउनेछ
घामझैँ उज्याला र न्याना उसका विचारलाई
कुहिराले छोप्न सक्नेछैन
किरणजस्ता भएर तिनीहरू
झलमल्ल–झलमल्ल गर्दै फैलिरहेका हुनेछन्
उसले रोजेका सुन्दर बाटाहरूको
सम्मान र सराहना गर्नेछन् सबैले
त्यो समय वसन्त आएझैँ आउनेछ
फूलका सुन्दर गुच्छाहरू बोकेर
शिशिरको रापिलो उदासीनता पन्छाउँदै आउनेछ
सुन्दर सरगम बोकेर
मैले बारीको करेसामा सयपत्री रोपिसकेकी छु
आँगनको डिलमा मखमली हुर्काइसकेकी छु
म माला गाँस्नेछु
दुनाहरूमा टीका सजाउनेछु
उसको विजयमिश्रित मुस्कान हेर्न
भाइपूजाको दिनमा
निधारमा टीका र गलामा माला सजाउँदै
उसले ल्याएका उपहारहरू मुक्तिका, चेतनाका
सर्वत्र बाँडिदिनेछु
खुसी हुँदै रोमाञ्चित हुँदै
मेरो एउटा साथी छ
पहाडको एउटा भेगबाट बग्ने छहरा झैँ
बग्दै आएकोछ ऊ
 काठमाडौँका चोक र गल्लीहरूमा
ऊ अझै केही दिन बस्छ यहाँ
मानिसका दुःख र पीडाहरू राम्ररी केलाएर
तिनीहरूको विरोधमा गीतहरू बनाउँछ
ध्वनिहरू फिँजाउँछ
असमानता र बर्बरतासँग औधी घिनाउँछ
मेरो साथी गीतका लहरहरू बोकेर
सहरमा होइन गाउँमै गएर
बाँकी जिन्दगी बिताउने रहर गर्छ
दुःखले कक्रिएको जीवनमा मानिसहरूको
आशाको सञ्चार गर्छ
उत्साहको सङ्गीत भर्छ