Last modified on 24 जुलाई 2016, at 21:56

सत्यको कुनै छाया हुँदैन / मोमिला

बाबा भन्नुहुन्थ्यो
सत्यको कुनै छायाँ हुँदैन
................
र म हरपल
छायाँमुक्त सपना सोचिरहेँ
कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे
सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ
ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु
.................
र विमूढ सामुन्नेमा
छायाँका अनन्त अर्थहरू बौरिएर
अग्लिँदो कालो पहाड हेरिरहेँ...

फेरि पनि सपनाभरि
खुला नीलो आकाशमा उडिरहेँ
ब्युँझँदा घनघोर अँध्यारोमा म कुँजिएको रहेछु
...................
यस बेला
मात्र अनुभूत गरेँ
कुनै वस्तु देखिनँ, वस्तुको छायाँ देखिनँ
छायाँविहीन छायाँले सिङ्गो वर्तमान ढाकेर गयो
सपना देख्न कहीं–कतै सेतो रहेन
....................
र घना छायाँको वर्तमानबाट
आफूलाई उकास्न नसकेर
केवल भ्रमको उज्यालोमा डुबिरहें...

बाबा भन्नुहुन्थ्यो
सत्यको कुनै छायाँ हुँदैन
लाग्छ, यसैले ईश्वरको पनि छायाँ हुँदैन...