Last modified on 23 जून 2020, at 08:51

सधैँको गह्रुङ्गो दिन / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:51, 23 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह=आगोक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

गह्रुँगो दिन, सधैँको गह्रुँगो दिन
फलामको ठूलो ढक छातीमा बोकेको दिन
बादलले तलसम्म धरतीसम्म झोल्लिएको
शायद चुहिनलाई
चुहिन नसकेको टाँसिइरहेको हरे ! कति युगदेखिन्‌को
बूढो बादल धम्की लागेको बादल
खुम्चाइमा आफैँलाई, खालि आफैँलाई ।
नपुंसक समय जन्माएर ।
परिधिमा जसको केहीले गर्भ बस्न सकेन
गर्भ बसे पनि भ्रूण कुनै तुहियो, केवल तुहियो
केही क्षणहरूभित्रै केही दिनहरूभित्रै ।

जन्मे पनि जन्म्यो लुँजपुँज अवयवभ्रष्ट बालक
कहिले आँखा नभएको
कहिले आँखा भए पनि नजर नभएको
कहिले सबै भएर पनि गिदी नभएको
थाइलोडोमाइड बालक कास्मिक बालक
जसको युवकत्व हुँदैन
जसको कुनै विकास हुँदैन
जसको केही पनि हुँदैन

केवल ऊसित टाँस्सिएको जन्म र मृत्यु हुन्छ,
तस्वीरको रङ्गलाई अनुहार पोतिएको रेखामा मात्र ।
केही रङ्ग लागेको रातो र पहेँलो, आलो घाउको चोट जस्तो
'नहुँदा पनि छ' को आभासमा त्यो
तारतम्य केही नभएको ।

युक्लिप्टस अनि सानु बुटाका
क्रमशः अग्लाइ र होचाइ समाउँदै,
जोगाउँदै लिइराखेको कीटभक्षी अर्को बोट आफूभित्र,
झिँगा आउँछ कि 'म बन्द हुन्छु'
फैलिएको माकुराको जाल आफूभित्र,
पुतली पर्छ कि 'म बाँच्छु ।'
हातहरू धरातलसम्म झुण्ड्याएर,
नजमेको फस्के माटोमा, सालिक उभिएको
चल्मलाउँछ कि उत्रेर हिँड्छ उचाइदेखिन्
सडक टेकेर आक्रमण गर्छ कि प्रेत पोतिएको सिलहट
तर्साउँछ कि ।

एक्लो निर्लज्ज उभिरहेको नाङ्गो रुख,
निहुरेर बतास टिप्छ र गाँज्छ कि,
कार्यहीन, निर्व्यवहार, अनि निर्व्यक्त
आवाजलाई जन्माएर ।

पहाड नभएको पौरुष,
केवल शङ्काले डराउँछ
रोगीको वर्गमील खुम्च्याइदिन्छ कि,

एक सिता,
भातको सिता,
रछ्यानमा छरिएकोलाई टिप्छ यहाँ नचिनिने आकृति,
एक रोटी र त्यसको वर्गमीललाई
काखी चेप्न खोज्छ एक छाया मार्न भोकलाई
आफ्नै मन्दिरबाट विस्थापित ढुङ्गाका देवताहरू
आफ्नै श्वास र प्रश्वासबाट वञ्चित जीवनहरू
तर्सिन्छ, चोर्छ,
मूर्दा आकृतिले पनि तर्साउँछ कि,
जिउनलाई चाहिने आवश्यकताले गिज्याउँछ कि,
आओ, नमस्कार, गरौँ त्यो आकृतिलाई,
चिनिँदैन उभिन्छ मात्रै,
टेकेर बुटले हातलाई
आओ ए मानिसहरू, कि भोका प्लेटफार्मभरि शासन गरौँ
केही उम्रन्छ कि !
कि छोडौँ यस धर्तीलाई यात्रीहरूको लामो ताँत बनाएर
लम्ब्याएर सडकलाई अज्ञाततिर शायद शून्यतिर,
कि आकाशसम्म कट्याङ्ग्रिएर पनि उचाई लिइरहेको बलियो हातले
इतिहासका उँचा खाँबाहरूलाई पढौँ कथामा
पुरातत्वको आशयझैँ
आशय मात्र नभएको अस्तित्वको
नबनिएको ठूलो निर्माणझैँ उक्किएको
बाँझो पहाडको
चेप्टिएर पातला चौरजस्ता मैदानहरूमा,
रातभरि झरेको पानीमा ऐना हेरौँ
आफ्नो जीउभरिको विम्ब अल्झाएर
त्यसैमा छाया नापौँ
र भनौँ हेराइले भ्याएको सबै ठाउँको सम्राट
बिहानलाई विशाल गुफाभित्र
प्रवेश दिन खोज्ने काला टाटाहरू
मेरो अधिकार !
ओहो ! ठूलो व्यङ्ग्य !

अभ्यर्थना नै किन जब त्यो अभीष्ट देवता नै छैन,
पूजा नै किन,
त्यस मन्दिरको जसमा मूर्ति नै छैन,
जसको मन्दिर नै छैन
सेवा नै किन त्यस धरतीको जहाँ केही उम्रँदैन !
नमस्कार केवल निस्सारतालाई, निस्सारतालाई,
आसक्ति नै किन त्यस अनुहारमा, केवल झर्छ टाँसिँदैन !