Last modified on 4 अगस्त 2016, at 10:09

सन्देह / अभय श्रेष्ठ


यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर

पानीका सुन्दर तालमा देखिने
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर ।

अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर ।

तिम्रा सम्मानित गुरुले
मीठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।

पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर ।

सुकरात, मार्क्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन केवल तिम्रा सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर ।

आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर ।

म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा ।