Last modified on 28 जुलाई 2017, at 23:16

समुद्र र उदास परी / विमला तुम्खेवा


रिक्तता भोग्नु पनि
साह्रैूलोठ सत्यता रहेछ
हुन्न थियो होला
यस्तरी —
काँडा भएर फूलहरुलाई चुम्न
हुन्न थियो होला भोग्न ........
आकाशहरुलाई समय अन्तरालसँगसँगै ।

मसँग —
सर्वाङ्ग नाङ्गिएर
जीवन भाग्न खोजेको धेरै भयो
साँच्चै —
कोठामा मौनता छाएको धेरै भयो
तिमी भन्न सक्छौ
यो सडकमा पाप्रा पाप्रा भएर उप्किएको डोबहरुले
कतिपटक
सूर्यको रापिलो तापेर शीतलाई पर्खिए होलान्
हामीबीच प्रेम
आधी प्रेम भएर उभिएको छ
राग–अनुराग भएर टप्पिएको छ
दूर कतै बस्तीबाट आफैतिर आउँदै गरेका
एउटा—
प्रतिक्षारत अनुहारजस्तो
तिम्रो ओेठमा —
अधुरे प्रेमकथा कोरिएको छ
लाग्छ —
टेवलमाथि गिलासमा सजाइएको
गुलाफको फूल
बोटबाट छुट्टिनुको पीडामा त्यस्तै तड्पिएको छ ।

जलपरी,
विजय पराजय
प्रेम, घृणा
यो त मान्छेको बस्तीको नमीठो खेल हो
यो त अनिष्टताको सङ्केत हो
फर्क !
शीतको अनुहारसँग
जीवनको कुनै सम्बन्ध हुँदैन
बन्धन र स्वार्थहरुलाई तोडेर
हामी समुद्र यात्रा गरौँ घाम अस्ताउनु अघि ।