भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साइत / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:24, 2 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

वषौँपछि पूजा छ घरमा
प्रसाद बाँडिने आशमा छन्
उपासकहरू ।
 
अक्षताहरू पोखिनु हुँदैन
दियो निभ्नु हुँदैन
चाहिएको छ एउटा ठूलो टपरी
वरिपरि अक्षता रमाउनेगरी
बीचमा दियो हाँसिरहनेगरी
राम्ररी गाँस्नुपरेको छ-
आँधी-बतासले
नउडाउनेगरी ।
 
पालुवाबाट भर्खरै किशोर भएका
किशोरबाट भखरै युवा भएका
युवाबाट बिस्तारै प्रौढ भएर
अनुभवले दरिएका पातहरूले
भरिएका छन् डालाहरू ।
  
भीड छ आँगनमा
नाङ्लाभरि छन् पूजाका सामग्रीहरू
धुप-बत्तीहरू
नैवेद्यहरू
जल-कलशहरू
 
चाहिएको छ एउटा चोखो टपरी
कसले लगाउने लाफा ?
कसले ठड्याउने कुनो ?
टुक्रिन मान्दैनन् बषौँ ओसिएका सिन्काहरू
गाँसिन मान्दैनन् बषौँ सुकेका पातहरू ।
 
साइत बिस्तारै सङ्घारबाट
हात हल्लाउँदै छ विदाइको
कसले गाँस्ने टपरी ?
 
प्रसाद पर्खिरहनेको भीडमा
खोइ ? टपरी गाँस्ने कहाँ छ ?
सिन्का भाँच्ने कहाँ छ ?
 
वषौँपछि पूजा छ घरमा
पूजाको साइत छोप्ने कहाँ छ ?