भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

साले दुबसु क्षेत्री / दुबसु छेत्री

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:26, 28 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= दुबसु छेत्री |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

दौरा सुरुवाल र कालो कोटभित्र
सबै कुरा छोपिन्छ भन्दो हो साले
जति छोपे पनि कहीं न कहींबाट
आत्मविस्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
स्वाभिमान नुहिरहेको देखिन्छ
दौरा सुरुवालले छोपेर
लासलाई जिउँदो बनाउन के सक्थ्यो
बिचरा
अत्तर र्छर्केर सिनोको गन्ध दबाउन खोज्छ
तर कहीं न कहींबाट
गन्ध फैलिरहेको देखिन्छ
त्यही पनि ढाँट्छ साले
ढाँट्ने र कुरा काट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि त साथीभाइलाई ढाँट्छ
कि हाकिमको पैताला चाट्छ
केही नभए
कसै न कसैको कुरा काट्छ साले,

दुई चार चर्का कविता लेखेर
सबै ठाउँमा बिकिन्छ भन्दो हो साले
जति बनाए पनि निचोरिएको पेटिकोटजस्तो
उसको अनुहार छ्याङ्गै देखिन्छ
उसको हाकिमले सुलोचना र चिसो चुल्होको
नाम सुनेको भए पनि
तोक-आदेश र धम्कीभन्दा
ठूलो महाकाव्य कहिल्यै सुनाएको छैन
ऊ आफै पनि टिप्पणीभन्दा
ठूलो कविता अरु केही हुँदैन भन्न थालिसक्यो
फर्सिको जरा लेखिँदा जन्मिएकै थिएन साले
मातेको मान्छे ....छापिंदा टुकुटुकु हिंड्दो हो
अहिले सनकमा दुई चार कविता लेखिटोपल्छ बिचरा
घुम्ने मेचमाथि अन्धो मान्छे हुँदै छ बरु ऊ
तर बिचरा
न भूपी हुन सक्यो न मोहन कोइराला
न बल्लभ हुन सक्यो न वैरागी काइँला
त्यही पनि ढाँट्छ साले
ढाँट्ने र कविता छाँट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि सम्पादकको पैताला चाट्छ
केही नभएर्
अर्थ न बर्थको दुई चार कविता छाँट्छ साले,

र्‍याकभरि, दराजभरि, भित्ताभरि सपनाहरु सजाएर
सपना बेच्दै जिन्दगी गुजार्न सकिन्छ भन्दो हो साले
जति सपना देखे पनि, जति सपना बटुले पनि
कहीं न कहींबाट
बिपनाले निचोरिरहेको देखिन्छ
कहीं न कहींबाट
यथार्थले घोचिरहेको देखिन्छ
फूलबुट्टे सपनाका मजेत्राहरु देखाएर
दईइचार वैंशालुहरु आकषिर्त गर्न खोज्छ
बिचरा
आवरणले मात्र ढाकेर
आफूभित्रको नीचता दबाउन खोज्छ
तर कहीं न कहींबाट
नीचता तैरिरहेको देखिन्छ
त्यही पनि ढाँट्छ साले
ढाँट्ने र सपना साट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि सपनाको पैताला चाट्छ
केही नभए
कसै न कसैसँग उधारो सपना साट्छ साले,

राजधानीमा बस्ने बित्तिकै
त्यसै अग्लो होएन्छ भन्दो हो साले
टुकुचाको किनारमा बसेर
टुकुचाझैं गन्हाइरहेको छ साले
धरहराको छेउमा बसेर
धरहराभन्दा अग्लो महत्वाकांक्षाले किचिरहेको छ साले
काठमाडौंले थिचेको छ, टोकेको छ
काठमाडौंले पटक-पटक ऐंठन गरेको छ
यस्तो बेला
रानीपोखरी किनार-किनार भएर हिंड्छ सधैं
तैपनि हाम्फाल्न सधैं अकमकाइरहेको छ
सिंहदरबारको छेउमा उभिंदैमा
सिंहदरबार बुझ्न के सक्थ्यो
बिचरा
टुंडिखेल हेरेर आफ्नो कोठाको
साँघुरो अनुभव गर्छ
बिचरो कहीं न कहींबाट
खुम्चिरहेको देखिन्छ
त्यही पनि ढाँट्छ साले,
ढाँट्ने र कुरा छाँट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि सिंहदरबारको पैताला चाट्छ
केही नभए
कहिल्यै पूरा हुन नसक्ने नयाँनयाँ योजनाहरु आँट्छ साले,

विज्ञान र प्रविधिका दईइचार कुरा
पढें भन्दैमा सबै कुरा बुझिन्छ भन्दो हो साले
जति पढे पनि कहीं न कहींबाट
अन्धविश्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
अविश्वास बगिरहेको देखिन्छ
भाषण गरेर मात्र
सभ्यातालाई आत्मसाथ गर्न के सक्थ्यो
बिचरा
रोबटले पनि तर्सर् खोज्छ
कहिलेकहीं कम्प्युटरले पनि गिज्याउन खोज्छ
त्यही पनि ढाँट्छ साले,
ढाँट्ने र कुरा काट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि रोबोटको पैताला चाट्छ
केही नभए आफ्नै खुट्टा आफैं काट्छ साले,

इतिहास ओढेर सुतेपछि
सबै कुराबाट जोगिन्छ भन्दो हो साले
जति ओढे पनि कहीं न कहींबाट
इतिहास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
षड्यन्त्र बगिरहेको देखिन्छ
अतीत खाएर मात्र के बाँच्न सक्थ्यो
बिचरा
पर्ुखाको पौरख पढेर फिस्स हाँस्न खोज्छ
तर जहींतहींबाट बिचरा बुख्याचा जस्तो देखिन्छ
त्यही पनि ढाँट्छ साले,
ढाँट्ने र कुरा काट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि इतिहासको पैताला चाट्छ
केही नभए इतिहासकै कुरा काट्छ साले,

आत्महत्या त गरिसकेको छैन उसले
त्यसैले अब उसको हत्या पनि हुन सक्छ
बाँच्ता त बिचरो पूरै उधारो बाँचेको छ
बाँच्ता पनि सापटी जीवन बाँच्नु परेको छ उसले
त्यही पनि
कहिले मतिर, कहिले आफैंतिर हेरेर
साले दुबसु क्षेत्री
किच्च हाँस्छ
हुन सक्छ अब छिट्टै कुनै दिन
आफ्ना कविताहरु ओढेर सुतेको
दुबसु क्षेत्री
आलिशान महलले छेकेको
घाम नछिर्ने सानो घरको
चिसो खाटमा
एकदिन बेवारिस मर्छ
छातीभरिका सुकुमार सपनाहरुलाई
सिरकमा पोको पारेर
एकदिन एकाएक मर्छ
कसैले थाहा नपाई मर्छ ।