भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साहित्यको कुम्भ मेला / रमेश खकुरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज साहित्यको कुम्भ मेला थियो
दीप नै लाख पर्ने बलेको थियो
ब्ल्याक लेभल् त खोलो बगेको थियो
शव्द बेपार राम्रै जमेको थियो ।

को कता को कता खूब चर्चा थियो
झुण्डपिच्छे कुनै एक झण्डा थियो
धेर यात्री थिए एक पण्डा थियो
भाउ मिल्ने कुरा मात्र चन्दा थियो ।

शव्दका पारखी भावका पारखी
मानका पौरखी हाटका पौरखी
मूल्यको मान्यता खूब चल्दै थियो
साँच्चिकै लेखनी चाहिं गल्दै थियो ।

भोजको मोजमा मातको खोजमा
बात बल्दै थियो हात मल्दै थियो
नोटको सामु साहित्य मर्दै थियो
शीत भै व्योमको आँसु झर्दै थियो ।

आज साहित्यको कुम्भ मेला थियो ।