Last modified on 27 मई 2020, at 13:23

सुख दुःखका विषयमा २६४ – २८४ / उमानाथ शर्मा पोख्रेल


मेरा बन्धु जहान मान धनहुन् भन्दै जत्ती लट्ठ छन् ।
जो यस्ता अति दुःख कारण महाँ चौपट्ट लंलष्ठ छन् ।।
त्यस्तो भिषण-मोहवृक्ष तलमा डा तिनृ गर्दछन् ।
त्यो दुःसह्य उपाधिमा पनि अनी फेला तिनै पर्दछन् ।।२६४।।

जो यो दुःसह दुःख बा६ बँचने इच्छा लिने छन् जन ।
तिन्‌ले संझनु पर्छ मोह हटने उद्योग को साधन ।।
माया मवह हटेर निर्भय हुनू हो जन्मिनाकव फल ।
येही हो पुरुषार्थ उत्तम यहाँ यो लाभ हो निर्मल ।।२६५।।

मोह त्याग गरेर शुद्ध मनले खोजौं दिगो सम्पत्ति ।
ब्रह्मानन्द जमाउँ बुद्धि बलले उत्साह राखौं अति ।।
फोस्रो जीवन हो भनिन्छ सजिलै, जो जिन्दगीनै भरी ।
खाली खानु र लाउने विषयमा आसक्त छन् बेसरी ।।२६६।।

संसारी घरबार चार दिनका निःसार जंजाल हुन् ।
खाली दुःख बडाउने विषयमा हाम्रा यिनै काल हुन् ।।
भन्ने नित्य विवेकले भुवनमा डेरा गरौं शान्त भै ।
राम्रो तर्क उठाउँ फुर्सद हुँदा अत्यन्त एकान्त गै ।।२६७।।

यस्तै रीत सधैं सबै जन मिली वैराग्य-चर्चा भये ।
यस्तै सूक्ष्म विचारका उपरमा यो चित्त हाम्रो गये ।।
बत्ती उज्जवल बल्दथ्यो हृदयमा कर्तव्य जान्ने थियौं।
मिथ्या संग्रहबाट निर्भय भई आनन्द मान्ने थियौं ।।२६८।।

मिल्दो हो सुनमा सुगन्ध तब पो तुच्छ सम्पत्तिमा ।
यस्तो ख्याल हुने गरीब छ पनि डग्दैन आपत्तिमा ।।
यो ऐश्वर्य कमाउँ खर्च न हुने बढ्ने बरु खर्च ले ।
यस्मा नै मिहिनेत गर्नु बढिया यो मर्त्यका देहले ।।२६९।।

खूबै बुद्धि लडाउँ यो विषयमा यै बुद्धिको कार्य हो ।
यस्तै कार्य निमित्त देह धरने जो हो उही आर्य हो ।।
यस्को जो महिमा बताउँछ उहि संमान्य आचार्य हो ।
यस्तै शुद्ध विचारमा स्थिर हुनु शास्त्रोक्त गाम्भीर्य हो ।।२७०।।

दृश्यादृश्य समस्त बस्तु गणका उत्पत्तिमा कारण ।
सारा स्थावरजङ्गमादि चिजका आधार नारायण ।।
दाता भुक्ति र मुक्तिका पनि उनै संसारका मालिक ।
राखौं भक्ति उनै जगज्जनकमा हामी सदा कालिक ।।२७१।।

मायातीत अनन्त शक्ति भगवान् त्रैगुण्य-संचालक ।
विश्वात्मा विभु अप्रमेय गुणवान् संसारका पालक ।।
यस्ता ईश्वरको निरन्तर गरे सेवा बडा भक्ति ले ।
ब्रम्हानन्द मिलेर छोड्दछ पनि यो तुच्छ आसक्ति ले ।।२७२।।

यो आनन्द मिले पछी अरु सबै आस्वाद खल्ला हुनन् ।
यस्का लेखि महेन्द्र-ब्रम्हा पदको इच्छा पनि गर्छ कुन् ।।
यो आनन्द सुधा नदी रय महाँ जो खेल्छ धोती कसी ।
त्यो हो वीर सुधीर बुद्धिवलभाक् त्यो हो बडो साहसी ।।२७३।।

तृष्णा नै लिनु पर्छता लिई रहौं तृष्णा यसै वातमा ।
यो तृष्णा लिन लोभिने जन कुनै पर्दैन आघातमा ।।
को आफल्दछ जात सज्जन भई गुन्द्रूकका झोलले ।
फ्यांक्ला निर्जरकारि भेषज पिई पायिन्नजो मोलले ।।२७४।।

फोस्रो चित्त उडाउने विषयको जो गर्दछन् गन्थन ।
तेस्ता देखि हटे। सद्विषयमा हर्दम् लगाऊँ मन ।।
विस्तारै तव उबेजला हृदयमा वैराग्य को अङ्कुर ।
तेस्को वृद्धि हुदैं गये पुरुषको देखिन्छ अर्कै सुर ।।२७५।।

यो संसार असार हो विषय यी हुन् मोहकारी सुरा ।
स्त्री छोरा धन धान्य हुन् हृदयका घायेल पार्ने छुरा ।।
यी सम्पूर्ण यथार्थ वाक्य हरुमा विश्वास होला तब ।
आफैं नित्य विवेकमा स्थिर रही वैराग्य होला जब ।।२७६।।

साँच्चै नै व्यवहार दुःखमय हो भन्ने जहाँ याद भो ।
साँचो सौख्य तलाशगर्न दिनहूँ हाम्रो अनी चित्त गो ।।
जैले त्यो सुख हात पर्दछ अनी पल्कन्छ उस्मै मन ।
तेस्मा पल्कि गये पछी विषयमा के काम फिर्ला जन ।।२७७।।

मैना को शय कम्पनी सहजमा जो पाउला वेतन ।
त्यो छाडीकन पन्ध्र वेतन महाँ जाँदैन कोही जन ।।
काश्मीरी मसला मिठा फल चुसी जो पाउँदैछन् सुख ।
ती प्राणी गुलियो भनेर कसरी डोव्लान् खुदोमा मुख ।।२७८।।

जस्ले यो सुख लाभले हरघडी पार्योल हँसीलो मुख ।
त्यो गन्दैन कदापि दुर्विषयका फोस्रा मसीना सुख ।।
तेस्लाई अपमान मान समछन् मान्दैन केही डर ।
नाफाले नत रद्द हुन्छ अथवा नोक्सान ले कातर ।।२७९।।

दर्जा द्रव्य इ आदि वस्तुहरुले टेवा लगाइकन ।
विस्तारै थिगरी हुँदा सुखसरी ठान्दोछ हाम्रो मन ।।
टेवाले कति सम्म थेग्दछ अहो ! देख्छू मत जग्जगी ।।
साच्चै को सुख ह्वैन यो बुझिलिंदा यो खालि हो दिल्लगी ।।२८०।।

आफै आफ विचार मात्र लिइ जो आनन्दमा मस्तछ ।
जो यो शुद्ध विचाररुप धनले निर्धक्क भृ बस्तछ ।।
फोस्रो यो व्यवहार बाँकि नरही चाहे हराओस् सबै ।
त्यो डग्दैन अहो! मरें अब भनी मान्दैन बाधा कवै ।।२८१।।

आफ्नै हात महाँ छ त्यो धन सधैं जस्ले सबै आपद ।
विर्सायेर पवित्र पूर्ण सुखको भित्रै गरायो मद ।।
तेस्को हानि गराइ दुःख दिनमा शक्दैन कोही जन ।
चाहे पारि छियाछिया जिउ सबै छुट्याउँ घाँटीकन ।।२८२।।

जस्का ज्ञान विवेक शास्त्र हरु छन् आनन्द का साधन ।
यी भित्री धन भोगले हरघडी जस्को रमायो मन ।।
तेस्लाई सुख पाउँने विषयमा कुन् बातको हानि छ ।
यस्ता नक्कलि तुच्छ वस्तु न मिले तेस्लाई के ग्लानि छ ।।२८३।।

ठूलो ढोल पिटी ऋषीश्वर हरु यै गाउँछन् शास्त्रले ।
यो आनन्द-सुधा-प्रवाह बलले पायिन्छ सत्पात्रले ।।
लागौं हामी पनि यसै विषयमा चर्चा गरौं शास्त्रको ।
सत्का सङ्गतमा गई गरिरहौं प्रस्ताव यो मात्रको ।।२८४।।