Last modified on 27 मई 2020, at 13:10

सुजन र दुर्जन / उमानाथ शर्मा पोख्रेल


सत्कर्म गर्दछ कुकर्म छुदै छुदैन ।
डाही र सेखि अभिमान लिंदै लिंदैन ।।
बन्दैन शोक मनमा लीइ जो उदास ।
त्यो हो मनुष्य अरु हुन् पशु तुल्य खास ।।५४।।

जो काल व्यर्थ न गुमाइ गरी सुकर्म ।
त्यायी भई कन कमाउँछ अर्थ धर्म ।।
छोड्दैन धैर्यकन आपद मा डराई ।
त्यो सार्थ गर्छ शुभ-सर्त्य शरीर लाई ।।५५।।

पायेर मान धन ज्ञान गरीब लाई ।
जो गर्छ शक्ति अनुसा सधैं भलाई ।।
त्यो लोक धन्य उसकी शुभ जन्म धन्य ।
त्यो पूजनीय जन हो सबको शरण्य ! ।।५६।।

गर्दैन श्राद्ध सुरपूजन पूज्य भक्ति ।
गर्दैन मित्र सँग प्रेम र सत्य उक्ति ।।
दोषी छ आफु अरुमा उहि दोष दिन्छ ।
त्यो मूर्ख-पङ्क्ति बिचमा पहिले गनिन्छ ।।५७।।

लोभी असत्य बकने व्यसनी अधीर ।
क्रोधी र जो सुजनमा पनि दिन्छ पीर ।।
त्यी मूर्ख हो अति भयंकर लोकभार ।
पुग्दैन त्यो कहिं गये पनि दुःख पार ।।५८।।

जो क्रोध लिन्छ अरुको बुझि कार्य सिद्धि ।
जो व्यर्थ कत्ति अरुको सहँदैन वृद्धि ।।
सन्तोष त्यो कहिं गये पनि पाउँदैन ।
कल्याण लाभ उसलाई कवै हुँदैन ।।५९।।

जस्को मनुप्य खुसि पार्न हुँदैन शील ।
त्यो पोल लाउन भनीकन दिन्छ दील ।।
आखीरमा सकल को अपमान गाली ।
निन्दा सहेर हुनुपर्दछ खिन्न खाली ।।६०।।

सुन्दा गुणी पुरुषको गुण भाँति भाँति ।
त्यव मूर्खको अनि चरक्क चिरिन्छ छाति ।।
खाँदैन भात भर रात निदाउँदैन ।
शुक्दै रहन्छ विचरा न मिलेर चैन ।।६१।।

यो पो गुणी सुजन मान्य भयेछ पक्का ।
यस्को वयान सुनि पर्छ मलाई धक्का ।।
यो संझि मूर्ख जन चार दिशा डुलेर ।
निन्दा गुणी पुरुषको गरि फुल्छ धेर।।६२।।

अर्को उदारमन सज्जन चाँहि फेरी ।
सन्तुष्ट हुन्छ गुणवान् जनलाई हेरी ।
पारौं गुणी सकल मानिस लाई भन्दै ।
दौडी रहन्छ सुख दुःख पनि न गन्दै ।।६३।।

डाही लिंदोछ जन मूर्ख न जाती ठानी ।
शान्तै रहन्छ जन उत्तम क्यै न मानी ।।
हानेर दण्ड पृथिवी-तलबाट माथी ।
श्रीसूर्य लाई हुन जान्छर के न जाति ? ।।६४।।

हर्दम अनादर गरोस् बसि मूर्ख पङ्क्ति ।
यस्ले गुणी जन हुँदैन कदापि कम्ति ।।
धूलो परेर मणिको कम हुन्न मोल ।
त्यो युक्ति साथ बुझ्दा छ सधैं अमोल ।।६५।।

गाली गरेरअथवा गरि हात पात ।
बन्दैन साधु जनका मतिको विघात ।।
गम्भीर सागर अली अली धूलि फाली ।
होला कसोगरी शुकीकन सानु नाली ।।६६।।

हुन्छन् जती जति गुणी उति ढुक्क मान्दै ।
आनन्दले सुजन बस्दछ बेस ठान्दै ।।
सन्तोषले रुचि भई निद पूर्ण पाई ।
देहात्म शक्ति बढि भोग्द छ त्यो भलाई ।।६७।।

सत्‌शील छैन जसको गुण छैत रत्ति ।
वाँचेर त्यो पुरुषको फल छैन कत्ति ।।
त्यो धन्यहो भुवनमा गुणयुक्त जो हो ।
भोग्ने दुवै तिर महासुख वीर सोहो ।।६८।।

हे मित्र ! यी दुइथरी जनलाई हेर ।
कुन चाँहि बन्न तिमीलाइछ चाख धेर ।।
त्यस्तै भयेर सुख दुःख सहेर वाँच ।
आफ्नै अधीन छ दुवै हुन रत्न काँच ।।६९।।