भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सौभाग्य फर्किन्छ रे ! / बद्रीप्रसाद बढू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कोदाली र हलो लिई दिन दिनै खोल्सा र खाल्सा खनी
गर्दै काम सधैँ बिहान नुहुँदै राती अवेला पनि
तर्तर्ती पसिना बहन्छ शिरमा साह्रा जमिन् भिज्दछ
कैले घाम सही कतै झरी सही त्यै खेतमा भिज्नुछ//१//

फर्कन्छौ घरमा न पानी छ त्यहाँ न अन्न दाना न छ
केही छैन कतै कठै !! तर त्यहाँ निस्पट्ट अन्ध्यार छ
भोको पेट लिई सधैँ भरि हलो जोत्दा पनि यो गति !
आएनन् कहिल्यै कठै!! तर यहाँ आनन्दको जीवनी //२//

लाग्यो भोक भनी रुँदै वरिपरि कान्छा र कान्छीहरू !
आमाको मुखमा टुलु टुलु गरी हेर्छन् बिचाराहरू
छाम्छन् ती कहिले उठेर पटुका, आमा यहाँ के छ नि?
केही छैन कठै कठै !! तर त्यहाँ ठेट्ना मकैका पनि //३//

भक्कानो मुटुमा फुटीकन कठै!! डाँको छुटी आउँछ
आँखा शून्य भई त्यहाँ वरिपरि निस्पट्टले छाउँछ /
आमा ती बिचरी दयालु मनकी रोएर बस्छिन् सधैँ
मर्छन् रोग र भोक खप्न नसकी बाला हजारौं कठै !!४//

धेरै वर्ष बिते कठै ! तर यहाँ उस्तै छ हाम्रो मति
कैयौं याम गुमे कठै !! तर यहाँ सुध्रेन हाम्रो स्थिति!
नौलो क्रान्ति न भै नयाँ किसिमको समृद्धि देखिन्न रे !
केही धैर्य गरे उषा किरणमा सौभाग्य फर्किन्छ रे ! //५//