भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्वदेशको गौरव / कालीप्रसाद रिजाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:13, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चौकीहरूमा मात्र सिमाना सीमित हुँदैन
सिमाना त तिमीभरि पनि हुन्छ तिम्रो देशको
अतिक्रमण चौकीहरूबाट मात्र हुँदैन
चूलो र कोठाहरूबाट पनि हुन्छ अतिक्रमण

तिमी हामी बेचिइसकेपछि
देशले बेचिइरहन पर्दैन
सार्वभौमिकता र देशको स्वतन्त्रता
नक्साका रेखाहरूभित्र होइन
त्यस देशका नागरिकका नसाहरूभित्र हुन्छ
चौकीहरूमा मात्र सिमाना सीमित हुँदैन...
 
सिमानाको रक्षा तोप र ट्रेन्चले मात्र होइन
कोदालो र कारखानाका चिम्नीहरूले पनि गर्ने गर्दछन्
अरे ! सिमाना त चौकी र चेकपोष्टहरूमा मात्र होइन
दोकान र बजारमा पनि हुने गर्दछ
र तिमी आफ्नै पसलमा उभिएर भन्न सक्दछौ
तिम्रो स्वतन्त्रता कति परतन्त्र छ भनेर
र तिमी आफ्नै छाती छामेर भन्न सक्दछौ
तिम्रो स्वाधीनता कति पराधीन छ भनेर
चौकीहरूमा मात्र सिमाना सीमित हँदैन...

त्यसैले ए सगरमाथामा गर्व गर्नेहरूहो!
तिमीले धान, मकै र गहँको सगरमाथा चुल्याउनुपर्छ
ए गुराँसलाई मायाँ गर्नेहरूहो !
गुराँस तिमीले एक करोड गालाहरूमा फुलाउनुपर्छ
हिमचुलीसित प्रीति गर्ने हो ।
दुई करोड ओठभित्रका हिमशृङ्खला
तिमीले खुलाउनुपर्छ
तिम्रो पसिनामा नेपाल ढकमक्किनपर्छ
तिम्रो रगतमा नेपाल झाङ्गिनपर्छ ।

स्वदेशको गौरव यही हो
कि तिमी स्वयंले नेपाल बन्नुपर्छ
अन्नपूर्ण जत्रो छाती भएको नेपाल
सगरमाथा जत्रो उच्च शिर भएको नेपाल
अंगालोभरि मेची र महाकाली भएको नेपाल
काखभरि करोडौं नेपाली भएको नेपाल
परिश्रमी पौरखीहरूको देश नेपाल
शूर, वीर, पराक्रमीहरूको देश नेपाल
मिलनसार ईमानीहरूको देश नेपाल
जनक र बुद्धहरूको देश नेपाल....