Last modified on 14 मई 2017, at 12:28

हजार वर्षको निद्रा / भूपिन

एउटा जीवनमा
म हजारौँ वर्ष सुतिसकेको छु
अब ब्युँझन चाहन्छु निद्राबाट

मानिसलाई कोक्रोमा हालेर
लोरी गाउँछ बुद्ध
ब्युँझाउने भनेर
बुद्धले पनि मलाई सुताएरै गएको छ
हिँड्दाहिँड्दै
सपना देख्न सिकेको छ मान्छेले
झन ईश्वरले त
निदाएरै सपना देख्न सिकाएको छ
पुस्तकका चिसा पृष्ठहरूभित्र
पुतलीहरू च्यापिएझैँ
म च्यापिएको छु
दर्शनका बोझिला किताबहरूबीचमा
र मस्त निदाएको छु जीवनभरि
ब्युँझने सपना देखेर

ब्युँझन चाहन्छु अब म
हजारौँ वर्षको गाढा निद्राबाट ।