Last modified on 23 अगस्त 2020, at 21:22

हराएको गीत / सिद्धलिङ्गा पत्तना सेट्टी / सुमन पोखरेल

हराएको छ मेरो मनपर्ने गीत
कुन वनमा खोजूँ म
कुन माटोमा खोजूँ

तिर्खाको चित्कारले थकित छ माटो
कहाँ भेटूँ म सन्तुष्टी
पानी पनि सुकेर गएको छ बादलसँगै

के कुनै दैवी नदी बग्न सक्छ यहाँ?
हराएको छ मेरो गीतको प्रेम
कुन बोलमा खोजूँ म यसलाई
यसलाई म कसरी भेटूँ

प्रतिक्षा गर्छ समुद्र
बगिरहेका खोलाहरूको र
हर्षित नदीहरूको
तर्साउँछ सपनाले, र उदाश छ मन
बेरिएर बसेको छ मौन हृदय

हराएको छ उत्साहको धून
कसको मनमा चियाउनू मैले
कुन तार बजाउनू म

आँधीमा परिणत भएको छ बतासको कानेखुसी
कुरूप शरीरले फेर्ने हर्षित निश्वास
कहाँ भेटाउला जलिरहेको यात्राबाट संतप्त जीवनले

हराएको छ साथीसँगको सम्बन्ध
कुन जमघटमा खोज्नू मैले
मैले कसको साथ खोज्नू

मलाई अझै आशा छ वर्षा हुने र
भिजेर सन्तुष्ट भएको धरतीको,
लुकिरहेछ मेरो मनमा अझै
सुगन्ध लिनका लागि
ढोका उघारेर पसेको
नाच्दै गरेको बालक

गीतले खेल्नेछ यार्ड अब् नेक्टर
मित्रता खेल्नेछ वनले रमाउँदै
मेरो हराएको प्यारो गीतलाई भेट्टाएर ।

हराएको छ मेरो मनपर्ने गीत
कुन वनमा खोजूँ म
कुन माटोमा खोजूँ