Last modified on 23 जुलाई 2017, at 11:05

हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं / दिनेश अधिकारी


हिमालका कुरा गर्‍यौँ, गुराँसका कुरा गर्‍यौँ
देशभक्ति देखाउन सहिदका कुरा गर्‍यौँ
बेला भयो आऊ अब इमानका कुरा गरौँ
बिरामी छ देश अहिले निदानका कुरा गरौँ

लुकीचोरी देशको भाग आफैँले पो खायौँ कि ?
धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि ?
आफैँसँग सोधौँ अब कहाँकहाँ हामी चुक्यौँ
कुन ठाउँमा लड्खडायौँ ? कहाँकहाँ हात झिक्यौँ ?

मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि ?
जसले जेजे गरे पनि हेरिमात्र रह्यौँ कि ?
आफैँसँग सोधौँ अब कहाँकहाँ हामी झुक्यौँ
कसको पछि लाग्यौँ हामी ? आपसमा किन फुट्यौँ ?