Last modified on 13 अगस्त 2018, at 11:16

हिलो... / वसन्त चौधरी


हिलोमा कमल छ,
यसको अर्थ यो हैन
कि कमलमा हिलो छ,
बरु यो हो
कि कमलमा हिलोको
सापेक्षता खुलेको छ !
हिलोमै फुलेर कमल
कमल भएको छ !

शून्य केही हैन,
तर त्यो नै सत्य हो -
शाश्वत सत्य !
मलाई बोध छ -
यही हो मात्र यही
मेरो अन्तिम रूप ।

कुनै पनि क्षण
जब हुन्छु म
शून्यसँग साक्षात्कार,
यन्त्रवत्
तबै म हुनपुग्छु
त्यसै त्यसै चुप !

'तमसोमा ज्योतिर्गमय असतोमा सत्गमय'
एकाएक वर्तमान भएझैं मेरो सनातन
म विस्तारै बिउँझिन्छु -
यही सत्यको स्निग्ध उद्घोष रहेछ
कमल -
हिलोमा फुलेको कमल !