Last modified on 9 जून 2020, at 21:28

हुलाक / सुमन पोखरेल

चर्चा परिचर्चाको आनन्द अरूअरूलाई
तमासाको मज्जा समाजलाई
मायालुले पठाएको चिठी हुलाकलाई
टिकट मलाई।

मैले यही टिकट पाएको छु
मायाले पठाएको खाममा
यो एकपल्ट चलाइसकेको टिकट हो
फेरि चल्दैन
त्यसैले पनि
मैले यसलाई राख्नु छ सुरक्षित
कोसेलीजस्तै।

यसमा छाप लागेको छ
गोलो छाप
शून्यजस्तो छाप
जसमा मैले
चिठीको आशय पढ्नु छ
मायालुको भावना बुझ्नु छ।

अरूका मायालुले कस्तो चिठी पठाउँछन् मायालुलाई
मलाई थाहा छैन
अरूका मायालुले लेखेको चिठी
हुलाकमा खोलिन्छन् खोलिँदैनन् पनि थाहा छैन्,
तर
मेरो मायालुले पठाएको चिठी खोलिन्छ
अनि मलाई टिकट दिइन्छ
छाप लागेको,
गोलो, शून्यजस्तो छाप।