Last modified on 26 मई 2017, at 12:55

‘बाबा’–अमरकाव्य, सिर्फ दुई अक्षरको / विष्णु न्यौपाने


सिर्जना, चेतना र गौरवको
अर्थपूर्ण संयोजन,
सूर्य झैं चम्किलो भावात्मक अभिव्यक्ति ‘बाबा’
एउटा सिंगो ब्रम्हाण्ड हो ।
शरीर भरिको जाँगर, ऊर्जा र हौसलाहरूमा,
संस्कार, संस्कृति र कर्मका भावनाहरूमा,
बगिरहेछ निरन्तर शब्दरसायन ‘बाबा’ ।
आकाशको उचाइ वा सागरको गहिराइ जस्तो
ब्रम्हाण्डको चौडाइ वा जस्तोसुकै उपमा पनि
सजिलै सुहाउने गरिमा हो ‘बाबा’ ।
हिमाल झैं अग्लन सक्ने
हिउँ झैं पग्लन सक्ने
नदी झैं बग्न र सागर झैं जम्न सक्ने
हर क्षणको सफल बिन्दु ‘बाबा’
दुई अक्षरको अमरकाब्य हो ।
जीवन हाम्रो संसार हो ।
संसार नै सम्पूर्णता हो ।
सम्पूर्णता सृष्टि हो ।
सृष्टिको वीजारोपण हुने
दिब्य शव्द शागर ‘बाबा’ हो ।
विघ्नहर्ता, सृष्टिकर्ता,
पालन, पोषण वा भविष्य निर्माणकर्ता
पिताश्री शब्द ‘बाबा’
मात्र दुई अक्षरको अर्थपूर्ण महाकाव्य हो ।