भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अभियुक्त / नोर्जाङ स्याङदेन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:14, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्जाङ स्याङदेन |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कुनैपनि ठूलो अपराधको दण्ड
मैले सश्रम कारावासको जन्मकैद दिइएको देखेको छु ।
कि अधिकभन्दा अधिक मृत्युदण्ड दिइएको देखेको छु ।
तर म अब एउटा नयाँदण्ड
एउटा महादण्ड
एउटा अभूतपूर्व दण्ड, त्यो पनि
मलाई दिइएको म देख्न चाहन्छु ।
सश्रम जन्मकैदको कारावास मलाई यथेष्ट छैन ।
कुनै प्रकारको मृत्युदण्ड सम्म पनि मलाई यथेष्ट छैन ।
एकपल्ट मारिएपछि अथवा एकपल्ट मरेपछि
फेरि कहिल्यै पनि म नहुनुपर्ने अवस्थाको दण्ड म चाहन्छु।
मलाई अलिकति पनि बाँकी नराखिएको दण्ड म चाहन्छु।
काट्न, जलाउन सक्दैन रे यो आत्मालाई
कुनै पनि शस्त्रले, कुनैपनि आगोले
बगाउन, सुकाउन सक्दैन रे यो आत्मालाई
कुनैपनि पानीले, कुनैपनि वायुले।
बस, त्यस्तो आत्मामा फेरि मेरो कहिल्यै वास नहोस्।
श्रीकृष्णले अर्जुनलाई दिएको पुनर्जन्मको आश्वासन र आस पनि नहोस्।
मलाई सांसारिक अथवा दैविक कुनै क्लेमेन्सी चाहिँदैन ।
त्यहाँ पुनः कुनै नव नहोस्।
त्यहाँ पुनः कुनै भव नहोस्।
बस, एकपल्टको मृत्युदण्डमा मारिएपछि ।
अथवा त्यो मृत्युदण्डमा एकपल्ट मरेपछि
फेरि त्यहाँ भइरहनुपर्ने
बाँचिरहनुपर्ने कुनै अवस्था नहोस्।
फुटेपछि मुटुफाइरिङ स्क्वाइडमा
फेरि त्यहाँ भावना नहोस्।
फोरिएपछि टाउको हात्तीको पाइलामुनि
फेरि त्यहाँ बुद्धि नहोस्।
काटिएपछि घिच्रो गिलोटिनमा
फेरि त्यहाँ संसर्ग नहोस्
चुँडिएपछि नसो फाँसीको डोरीमा
फेरि त्यहाँ जीवनको अर्को पासो नहोस्।
हो, म नयाँदण्ड चाहन्छु।
म महादण्ड चाहन्छु।
म अभूतपूर्व दण्ड चाहन्छु।
मलाई नहुन नदिने यो आत्माको जन्जिर
तोडिएको देख्न चाहन्छु।
म एकदमै नहुन चाहन्छु।
यस्तो दण्ड दिन सक्ने सामथ्र्य तिम्रो दण्ड विधानमा छ के?
तिम्रा देवताहरूसित छ के?
तिम्रा ईश्वरहरूसित छ के?
मृत्युपछि मात्र होइन
यो जिउँदो जीवनकालमै दण्ड चाहन्छु
म सम्पूर्ण स्वतन्त्रता चाहन्छु।