भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगोको कथा / ईश्वरवल्लभ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:55, 23 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह=आगोक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हुरिँदै गएका ती आगोका वस्तीहरू,
बेग्लै लहर तुल्याएर परेको क्षितिज निल्दै, म खोज्छु,
गर्मी मसम्म आइपुगेको छैन भनेर भन्दिनँ
बिहान हुनासाथै मेरो सूर्यसित आउँछ, छाम्दै बिस्तारै मेरा आँखाहरू
म क्षितिजको शिखरमा बसिरहेको हुँदोरहेछु, सिमानामा,
घर नभएका अनाथ छन् मेरा क्षितिज
मेरो सिमाना एउटा तरुनो गर्मीलाई निम् दिन राजी छ,
बस्तीहरू जल्दा हुन्, मेरा यी आगोसित,
आरुबखडाको रातो मुन्तिर दुईटा साना पाइलाहरूका डोब उभिन्छन्,
तिनलाई हेर्दै, कहिले तिनै जलिरहेको बस्तीलाई हेर्दै
त्यो डोब त सधैँ हराउँछ ।

म ओलिम्पियाको देवता शायद खोज्छु
मेरा मासुहरूलाई व्यर्थै उनिउन्जेल कीलामा उभ्याएर
म तिर्खाहरूलाई सपनाका विम्बहरूसित मिलाइरहन्छु
सिलहट छ
तर त्यो सालिक सधैँ हराउँछ,
आकृति छ
तर त्यो आँखा सधैँ हराउँछ,
आस्था छ
तर त्यो देवता सधैँ हराउँछ ।
हुरिँदै गएका ती आगोका बस्तीहरू
निल्दै छन् हरेक छाप्रोलाई उसका सबै सत्ताहरूसित
भैँचम्पाको फूलले पोल्न थालेको उहिलेदेखिन्
नभन्दै राति बसेको बासले पनि जलाउन थालिसक्यो
पन्ना खोजिरहन्छ ।

इतिहासका सबै अक्षर मेटिइसकेपछि
अझसम्म उस्तै प्रथा र रीति भैरहन्छन्,
उस्तै पेण्डोमोनियम सिर्जना भैरहन्छ, मेरा प्वाँखमुनितिर
मैले बसेको ओथारो हो कि आहालमा सिङ्गो
मानिसको सिङ्गो मृत्यु छ ।

उत्सव महान् यज्ञको
वेदीमा समयलाई चढाउँदै जाने त्यस्ता यात्राहरू
परका परिवेशले र वरका वातावरणले कैद छन्,
वातावरणले कैद वातावरण,
आवरण नभएको नाङ्गो भन्ने गर्नुहुँदैन, सबभन्दा गहिरो
यसलाई गुजुल्टिएको नीलो पोखरीको आवास भने हुन्छ,
कि जन्मिँदै नजन्मेर मर्छ
जन्मेर मर्छ
कि खालि मर्छ, यसको मर्नु सिवाय अर्को नियति छैन,
यो आगोको कथा हो,
आगोको हो, पानीको पनि हो,
यो कथा हो, एउटा बिरामी डढेलोको कथा हो,
सबै शहरलाई अस्पतालतिर हाते गाडीमा
बोकेर लगेको कथा हो,
र, जहाँ केही बाँकी छैन,
केही बाँकी छैन त्यसैको कथा हो,
बल्दै गरेको आमासम्म पुग्नलाई
वर्षौँदेखि एउटा यात्रा बलले हिँड्न शुरु गरेको पनि थियो ।

कि अलिकति हात-गोडा तापेर आराम गर्नका लागि
मखुण्डो खोल्नलाई,
र, एक छिन बस्नलाई बास बसेको
भन्दै, कि गाएको भन्दै
एक्लो गल्लीमा ठूलो आवाज आएर दगुरेको जुलुस कि
खोज्नलाई त्यो बीसौँ शताब्दीको,
पिस्तोल बोकेको मानिसलाई
शायद त्यो आवाज त्यही पिस्तोलको हो
भन्दै ओछिएका पनि छन्, भन्दै

रक्ताम्य पशुहरू कि मानिसहरू
त्यसैले यो तातो गोली खाएको मानिसको कथा हो
शायद मेरै कथा हो,
यो यस्तै आगोको कथा हो ।