भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कविको अनुभव / भवानी भिक्षु

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:48, 13 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भवानी भिक्षु |अनुवादक= |संग्रह=हि...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

                   गर्न सकें अनुभव जब जस्तो
                   त्यस्तै जगमा रोएँ, गाएँ !
एकाकी यो शून्य निशामा टुलुटुलु हेरिरहेछु तारा
झिलिमिलि हाँसिरहेछन् तारा, सुतीरहेछ यो जग सारा
टाढा कुनै दिशामा कोही हिक्क-हिक्क गरी रोइरहेछ
मूक प्रतिध्वनिले यस उरमा कुन्नि के-के छोइरहेछ !
अन्तिम प्रहर निशाको आयो, खोल्यो नयाँ रहस्य कसैले
जग-जीवनसित एक दिवस-क्रम सुस्तरी खोस्यो, हेर, कसैले!
                   सूर्य सुनौला उम्ल्यो नभमा
                   रोयो मन - 'मैले के पाएँ ?'
                   गर्न सकें अनुभव जब जस्तो
                   त्यस्तै जगमा रोएँ, गाएँ !
भईरहेछ कहिलेदेखि यस्तै दिवा-निशाको नर्त्तन
मेरो कविले हेरिरहेछ किन हो यस्तो बेवश जीवन !
किन हो धारा धमीलो नै छ, सुन पनि बर्सेन अहिले
घुमी-घुमी मरीरहेको दुनियाँ, मर्नु र बाँच्नु छोड्दछ कहिले ?
यस जड-जगको बास लिए पनि मनले पीर-प्रतिध्वनि छोयो
कुन्नि कुन सपना सच्याउननिम्ति प्राण पनि हाँस्यो, रोयो !
                   कुन सुरपुरको सौष्ठव सुषमालाई -
                   उरमा के ली आएँ ?
                   गर्न सकें अनुभव जब जस्तो
                   त्यस्तै जगमा रोएँ, गाएँ !
छिनछिन पाइरहेछ कविले दुनियाँको यस्तो आकर्षण
छिनभरिमा ने सुन्न थाल्दछ तमपारिको मौन निमन्त्रण !
एकातिर छन् रश्मि चम्किने जसको पृष्ठभूमि छ कालो
भई स्तब्ध चियाउनु पर्दछ- "तमपारि छ कि कतै उज्यालो?"
त्यहाँ पुरन्दरपुर छ कि सकली अथवा त्यो पनि यस्तै नकली :
मधुमय दुनियाँ छ कि त्यहाँ नै या सुख छैन त्यहाँ पनि नजली ?
                   सिन्धु र बडवानललाई पनि
                   स्वाससितै सेलाउँदै ल्याएँ ।
                   गर्न सकें अनुभव जब जस्तो
                   त्यस्तै जगमा रोएँ, गाएँ !

.....................................
उदय, आषाढ-भाद्र २००६