भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गीत म कसरी गाऊँ ? / हेमन्त श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:11, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हेमन्त श्रेष्ठ |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

छेउमा सागर छ
सागरसँगसँगै अनन्त लहर
र लहरसँगसँगै अनन्त सङ्गीत छ
म किनारको प्यासी बगर बनेर
पानीको गीतमा कसरी रमाऊँ ?
तृष्णा बोकेर मनभरि
गीत म कसरी गाऊँ ?

चाहेको वसन्त हो
कहिले पलाँससम्म फुलेन
गुराँसको रक्तिम अनुहारमा
स्वयम् लालीको रङ्ग चढेन
चाहनाको असीम गन्तव्यमा
अभावको काँडा कुल्चेर म
कसरी यात्राको टुङ्गो लगाऊँ ?
 उमेर काटेर बिनाअर्थ
गीत म कसरी गाऊँ ?

भाषा छ तर शब्दहरू कैद छन्
सङ्गीत छ तर स्वरहरू कुँजिएका छन्
बिनादृष्टि कसरी म आँखाले देखूँ ?
बिनाआवाज गीत म कसरी गाऊँ ?

सारङ्गी बन्न सकिएन
कि खोक्रो पेटले पनि सङ्गीत सिर्जन सकूँ
अचानो भएर जिउन सकिएन
कि चोट खपेर पनि चुपचाप सहिरहूँ
आफ्नो त मन छ
मनसँगसँगै दुख्ने तन छ
कसैले बजाउँदैमा बज्न सकिएन
खुकुरी नाच्दैमा नाच्न सकिएन
एउटै बगैँचामा फुलेर के गर्ने ?
 म उन्यू गुलाफसँग कसरी प्रीत लाऊँ ?
हीनताको बोझ बोकेर सधैँ
गीत म कसरी गाऊँ ?

जीवनमा धेरै–धेरै पटक रोएँ
रोएर बाँच्नुलाई जीवन भनेँ
तर रोदनका स्वरहरू गीत बनेनन्
आँसुका थोप्लाहरू मोती बनेनन्
कलेँटी परेका ओठहरूले
कसरी मुस्कान छर्न सक्छ ?
व्यथाले पोलेका गलाहरूमा
कसरी हाँसो रमाउन सक्छ ?
 ग्रहणले छोपेको घामबाट
स्वर्णिम ज्योति कसरी पाऊँ ?
पीडा साँचेर मुटुभरि
गीत म कसरी गाऊँ ?