भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चतुरी नायिकाको मधुर स्वाङ / केशवनाथ शर्मा पौडयाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:33, 3 जनवरी 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

रातका समयमा दिइ धोका- बन्द पारिकन झ्याल र ढोका ।
आवरुकन लिनू अबलाको काम होइन हजूर ! भलाको ।।१।।

हेर कत्ति डर लाज नमानी, हत्तपत्त उठि बाहुलि तानी ।
ढेस्सिदै नगिचमा अझ यस्तो, बोलने बचन छी: मन कस्तो ।।२।।

गर्नुहुन्छ किन यो म जनाना-माथि जोरजुलुमीपन नाना ।
विन्ति भन्छु पर जानुहवोस, आउला पछि विनाहक दोष ।।३।।

झ्याम्मियेर यसरी भइ साख, खोजने हजुर छी: किन काख ।
कत्ति चित्त परदैन मलाई, यो कुरा हिंउदछू अबलाई ।।४।।

एकली छु बिचरी म अजान, छैन कोहिसितको पहिचान ।
स्वाङ पारि सँगिनि पनि भागी, को भनीकन बसूँ चुप लागी ।।५।।

भेट भो न कहिले नत बात, आफुलाइ न त याद छ आँत ।
हत्तपत्त पहिल्यै भनि ‘प्यारी!’ तान्नुहुन्छ किन नाहक सारी ।।६।।

छी: हजूर ! यसरी अबलाई, बिन्ति भो ! नछुनुहोस मलाई ।
जाइजान्छु घरतर्फ नबोली, आँउला म दिउँसो बरु भोली ।।७।।

एकली छ भनि मनपरि बोली, चोलि खोलिकन हुर्मत पोली ।
तंसिने अधरको रस खोजी, कत्तिको छ छिचरो मनमोजी ।।८।।

लिन्न नोट रुपिया पनि लिन्न, ओठ दागन मरे पनि दिन्न ।
गाल पर्छ यसले पछिबाट, गर्न शक्तिन हजूर म आँट ।।९।।

व्यर्थ आज बिचरी म ननीका, जालका बिच परी संगिनीका ।
बाँधियें इज्जत भो बरबाद, मेटिदैन अब यो अपवाद ।।१०।।

यो जुलुम सहन शक्तिन सत्ते, भाग्दछू अब म बस्तिन सत्ते ।
जाइजान्छु नगरीकन हौरा, लौ न जल्दि दिनुहोस पछयौरा ।।११।।

जानदीन म कुनै रस-रङ्ग व्यर्थ भो हृदय गैह्र जुरुङ्ग ।
ओडछू म कपडा दिनुहोस, प्रार्थना हजुर ! यो लिनुहोस ।।१२।।

जिस्किदा सब चुराहरु रन्के, बातले पनि दिशा सब घन्के ।
पाउलान अरु मानिस चाल, पार्नहुन्छ किन छी अबगाल ।।१३।।

हेर गाजल सबै पुछियेछ, हार यो हृदयको चुँडियेछ ।
छी: हजूर ! सब भो बरबाद, गर्नु हुन्न किन क्यै पनि याद ।।१४।।

व्यर्थ इत्र घसने निहु पारी, चोलि खोलिकन हात घुसारी ।
छी: हजूर ! नछटाउनुहोस, लाजले भइशके म बिहोश ।।१५।।

अय्य अय्य अय कोमल गाला, चिम्टि व्यर्थ गरने अति हाल ।
यो कुरा मकन लाग्दछ झर्का, बानि विघ्न छिचरो छ हजुरको ।।१६।।

स्वाङ पारिकन काकुति लाई, गर्नुहुन्छ किन दिक्क मलाई ।
बिन्ति छाडिदिनुहोस् हजुर ! आउँला पछि पनी म जरुर ।।१७।।

छिद्र खोजि घरका परिवार, छन सबै मकन मार्न तयार ।
भैशकेछ अरुणोदयवेला, पर्दछु म नगये अब फेला ।।१८।।

हत्तपत्त उठि टप्प अँगालो, हालि जोडिकन निर्भय गालो ।
लाज शर्म नलिईकन हाँसी, गर्नुहुन्छ किन यो बदमासी ।।१९।।

मात्तियेर कपडाहरु तानी, जोर जुल्म गरदा मनमानी ।
देहमा बढनगो अति गर्मी, छी: अहो ! हजुर विघ्न निशर्मी ।।२०।।

ढेस्सियेर यसरी ढसमस्स. हाँसिहाँसिकन निर्भय खिस्स ।
स्वाँङ् पारिकन हुर्मत फाली, जिस्किने हजुर ! छी: कति जाली ।।२१।।

गैह्र फालिकन छाप सितारा, तानि खोलि कपडा पनि सारा ।
मन्परी गरनलाइ म दिन्न, विन्ति लाज यसबाट रहन्न ।।२२।।

जिस्किदा नगेरि क्यै पनि याद, केश-पाश सब भो बरबाद ।
यो कुरा गरनुहोस विचार, पर्छ नत्र पछिबाट बिगार ।।२३।।

अंगराग न रह्यो न त लाली, वस्त्र हार न कुनै रस-शाली ।
गिज्जियेर सब फालिदिनुभो, छी: हजुर ! अति पाप लिनु भो ।।२४।।

देह यो तर भयो पसिनाले, अंग फेरि सब काँपन थाले ।
भेष छैन अघिको अबलाई, निस्कनै कठिन हुन्छ मलाई ।।२५।।

कोरि बाटिकन केश बनाई, वस्त्र छाप गहना सब लाई ।
जान्छु जल्दि घरमा खुशिसाथ, फेरि सुन्दिन कुनै अरु बात ।।२६।।

जानुहोस पर छी चुपचाप, दिन्न पाउकन लाग्दछ पाप ।
गर्नुहुन्छ किन दिक्क मलाई, माफ होस म हिंडे अबलाई ।।२७।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)