भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी बोलिभिया मैले प्रेम गरेकी ठिटी / ईश्वरवल्लभ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:02, 23 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह=आगोक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

दिउँसोको घामलाई मारिदेऊ त्यहाँ रगत हुने छैनन तैपनि
अस्ताउँदै गरेको घामको, घाउ हो त्यो साँझ त्यसैले
सङ्गीत सुनेको जस्तो पनि हुनेछ त्यो रक्तिम परिवेशबाट
जब सारा आकाश एक-एक गरी भित्र बर्लिन थाल्छन्
जब आफैँमा आफै घाउ पारेर बस्५न् ती राता विम्बहरू फुटिरहेका
खोलाका किनारहरू ओझेल परेको पनि हुन्छन्
एउटा लामो तुलना कलेजीको सिँगै थान सम्पूर्ण ओछिएर परसम्म
वागमतीको पानीसमेत रातो बगिरहन्छ,
जहिलेसुकै सम्झना एउटा, मेरो जीउहरूसित लोलाउँछ
र, त्यही मेरो सम्झनाभित्र बोलिभिया बसेकी छ
उसले हेरेका आँखाहरूमा मैले पनि देखेको छु
अग्लो शिखरसित खेल्दै गरेका ती सेता बादल जस्तै ।

भैँचम्पाका फूलहरू
बोलिभिया, तिमीले मलाई बिर्सन सक्दिनौँ
पहाडको हरियो शृङ्गार बेँसी र मैदानमा पनि फैलिएका छन्
आमा रेटिएको घाँटी पनि छन्, होइन र ?
किनभने तिमीले यिनलाई खूब रचाएर हेर्छौ
साउनको झरीलाई जस्तै कि कुनै बाजाका स्वरलाई जस्तो !
दागहरू परिवर्तित भैसकेका छैनन्
तिनको आलोपन बाँकी छ,
अँध्यारोमा बग्नेहरू हावाहरू मेटेको छैन
बोलिभिया त्यही समात्न पुगेकी छ मुट्ठीभरि
जीवनको समग्र चकाइलाई कहीँ बसी मेटेको झैँ
उसका अनेक मोन्टाजलाई इन्द्रेणीले बाँधेको हो
हरेक पक्ष आकाशको अनुकरण गर्छ
सोझो बाटो हिँडेर नपुगेको लक्ष्य, बोलिभिया !
त्यसैले बालुवाको सागरभरि सुन्दर छ
ऐना मैले नचिनेका अनुहारका रेखाहरू
परिवेशमा त्यसैले पोखिएको छ ।

उनी पालुवा टिपेर शृङ्गार गर्थिन्,
कमलो हावाले बोलेको ध्वनि बोल्छिन्,
अचानुको आमास भइरहेछ केही भएको हुँदैन,
उनको आँसुले सधैँ मेरो आँखाहरूबाछ झरेको हुन्छ,
सम्झिनलाई भनेर उभ्याइराखेका अग्ला मन्दिरहरू
नबिर्सनलाई भनेर बनाएका पिरामिडहरू
नहराउनलाई भनेर खनिएका एक्लो गोरेटाहरू
उसले हेर्न नसकेको दृश्यवलि
अँध्यारोमा बिलाउँदै गइरहेको होला,
उसका प्रत्येक स्पर्शले केही रङ्ग र रेखा कोपर्दै जान्छ
र, त्यहाँ पछि बालुवाको सिरानी लिएर ऊ ढल्किन्छे
कोही नगएको र कसैले नचिनेको टापूमा अँगालोमा लिएर
बोलिभिया शायद कहिले तिमीले मलाई शहर भन्यौ
तर म भीड हुँ, जामिरहन त्यसैले मन पर्छ
एउटा सिङ्गो ढुङ्गा जस्तो, तिम्रो आँखामा
तर फेरि एकचोटि तिम्रो आँखामा पग्लिरहन मन पर्छ ।
कहीँ तिमीलाई रङ्गले बाँधेको हुनेछ आगोको क्यानभासमा
जब म तिमीलाई शिरीषको सिङ्गो हाँगाले हम्किरहेको हुनेछु
वातावरणमा फूलका वासनाहरू पनि व्याप्त रहनेछन्
केही छैन र पनि 'हेर', म फूलको सन्तान हुँ-
एउटा चोखो जुलाई तिम्रो निम्ति निर्माण गरिरहेको हुनेछु
एउटा तन्नेरी आकाश तिम्रो निम्ति बनाइरहेको हुनेछु
एउटा पवित्र नदी तिम्रो निम्ति खनिरहेको हुनेछु
एउटा रातो साँझ तिम्रो निम्ति रचिरहेको हुनेछु
चिसो हुँदै गइरहेको घामलाई पनि छामे हुनेछ,
निरन्तर सल्किरहेको मैनबत्तीका शिखाहरूमा मैले तिमीलाई देखेको छु
शायद मलाई सपना पनि अब चाँहिदैनन्,
अलिकति रात मेरो काखमा भए पुग्छ
बोलिभिया ! मेरी बोलिभिया ! मेरी प्यारी बोलिभिया !
कति युगहरूदेखिन् म तिमीलाई खोजिरहेको छु ।

पनेरामा घल्चा बोकेर आउँदै गरेकी तरुनीलाई मैले सोधेको पनि हुँ-
'तिम्रो पानीमा के छ ?'
यद्यपि उनले केही पनि भनिनन्
बकैना र बैँसका रुखका पातहरूसित उनी गाउँछिन्
उनी त ठूलो उत्सवको जुलुस जस्तो भएर
मेरो शहरमा आउँछिन्
ती पुराना मक्किएका पानाहरूमा उसलाई खोज्नुहुँदैन,
ऊ त कैयौँ युगदेखिन् मेरो बगैँचामा फूल टिपिरहेकी छ
'फूल केसको निम्ति ?' मैले सोधेको पनि हुँ
तर त्यी अग्लो शिखरको लागि भनेर उनले भनिनन्
म व्यर्थै चिच्याउँछु, कराउँदै पर्खाल र अग्ला मसिनहरू
यो पानी कसको लागि ? म तिर्खाले पग्लिएको छु ।
बोलिभिया ! म तिर्खाले पग्लिएको छु ।

तिनीहरूले मलाई नभाँचिएका विम्बहरूमा
कुरा गर्नू भनेका थिए,
र, हरेक भाँचिएका विम्बहरूमा म तिमीलाई देख्छु
सधैँ अस्तव्यस्ततामा तिमी बनिँदै छौ,
कविताको प्रत्येक स्वर, शब्द, छन्द छरिएपछि
तिमी कवितामा रचिँदै छौ,
अब त पुराना दर्शनका कुराहरू बासी भैसकेका छन्
कुनै पनि छानामाथि उभिएको चिम्नीको ध्वाँसो जस्तै,
तुरहीको लामो स्वर तिमी हौ
तिमी हौ बोलिभिया, म चिन्दछु ।

तिनीहरूलाई मन त्यहाँ आउनुहुँदैन,
प्रतीक्षा यहाँ सुस्ताइरहेको छ ।

जाऊ पर गएर एक फेरा अब त्यो रातो आकाशलाई रमेटी हेर,
त्यसका छातीहरू पनि चुँडिएका छन्
तिम्रा नियतिहरूलाई समातेर घाँटीमा पर्साई हेर
केही पवित्र मन्त्रमा मिसिएका पानीहरू छर्दै
ओहो ! तिमी यहाँ छौ, मैले भनेँ,
राति एक्लै टल्किरहेको तारा तिमी नै हौ,
हे ईश्वर ! तिमी त बोलिभिया हौ, होइनौ र ?