भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीलाई मेरो उज्यालोको रिन छ / सञ्जय बान्तवा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:58, 9 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सञ्जय बान्तवा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यी हात मैले
काटिनलाई दिएको थिइनँ।

किरणका एक–एक थोपा
एक–एक अँजुलीभरिको मणिजस्तो प्रकाश
दिएर आफ्नो उज्यालो रित्याएको थिएँ।
मेरी आमाको श्रीसम्पत्ति गुमाएर
मेरा बाबुको जायजेथा मासेर
तिम्रा निम्ति आफू सर्वस्व स्वाहा हुन
मैले तिमीलाई कदापि साथ दिएको थिइनँ ।

यो आवाज दिएको थिएँ
रङ्ग–कुची, सङ्गीत र ताल दिएको थिएँ
ज्यान दिएको थिएँ/प्राण दिएको थिएँ;
आज अपमान र क्रन्दन पाउन
मैले मरिगए तिम्रो स्वरलाई बुलन्द गरेको थिइनँ।

मैले मेरो त्यो वर्तमान
तिम्रो आजको यो अभिमानका निम्ति
कहिल्यै तर्पण गरेको थिइनँ।

तिमीलाई मेरा सहस्रौँ उज्यालोको रिन छ ।
आज तिमीसँग म हिसाब माग्दछु—
तिम्रो हातमा
किन अन्धकार शेष छ ।