भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पुरानो मानिस / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:04, 9 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब
केछ त्यस्तो कुरा… ?

सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?
 
अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेटलन्चर
वा—
जैविक हतियार
अथवा—
अन्तर्राष्ट्रिय गीत… ?

घर जलाइदियौ घरसँगै—
उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गादोजल्यो
बक्खु, धोती र हाकुपटासी जल्यो
थाहा छ
ऊ किन जलेन ?

उसलाई आतङ्ककारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम यातनाले
उसका विनयी हातहरू छिनालिए
निर्दोष आँखा र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
उसको पृथिवीजस्तो मुटुलाई
सङ्गिनले उनेर
विजयको हुङ्कार गर्यौ
तर थाहा छ
ऊ किन मरेन ?

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब
केछ त्यस्तो कुरा… ?

भाषा ?
धर्म?
 जाति
संस्कृति, सम्प्रदाय, राष्ट्रियता वा—
मानवअधिकार
अथवा—
सुप्रिम अमेरिका ?

तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा…  ?
जसले—
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ
के तिमी—
खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
 के तिमी—
पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?
 के तिमी—
समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ ?

तिमीसित अब
केछ त्यस्तो कुरा…
भन । के छ ?
जसले—

यस धरतीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।