भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भरतराज पन्त / परिचय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:42, 22 नवम्बर 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

भरतराज पन्त परिचय

कमल दीक्षितले लेखेका थिए 'भरतराज पन्तको हृदय सफा थियो । मनमा एउटा कुरा, मुखमा अर्को कुरा गर्ने उनको बानी थिएन । त्यसैले होला उनले एकपटक मलाई, 'पेटमा एउटा कुरो मुखमा अर्को कुरो राख्न कपटी भनी छाँसेका थिए ।' पन्त खरो हुने ठाँउमा खरो थिए र नरम हुने ठाँउमा नरम थिए । उनी छिटै रिसाउँथे र छिटै खुसाउँथे, उनी न्याय पनि गर्थे र अन्याय पनि खप्न सक्तैन थिए । उनी जस्तो लेख्थे त्यस्तै बोल्थे । त्यसैले नेपाली काव्य फाँटमा उनले शिर्षस्थ आसन जमाएका थिए । वास्तवमा उनी यस फाँटका अद्वितीय नै थिए । उनी जे देख्थे त्यही लेख्थे । लेख्तालेख्तै उनी आफ्नो मनको चुर्ना झारेरै लेख्थेः

जालीको करङै भाँच लोभीको रगतै झिक असत्तीलाई सुलैले रोपेर गरिदेउ ठिक ।

पन्त आफ्नो बुतामा हिंड्थे । उनी मरुन्जेल काम गर्थे र समय उवारेर पढ्थे । नयनराज पाण्डेले उनलाई संस्कृत छात्रावासमा भर्ना गरिदिए । भर्नाका क्रममा पाण्डेले ठाकुरदत्त पन्तलाई भरतराज पन्तमा रुपान्तरित गरिदिए । त्यसपछि पन्तले पर्ढाईमा खुबै मन दिए । अनि अनेक दुक्खकष्टको माझ पनि उनले आचार्य गरे ।

पन्तले वेदवेदाड्ग विद्यालयमा पढाए । उनी नेपाल राष्ट्रिय विद्यापीठ र नारी विद्या पीठमा पनि प्रधानाध्यापक थिए । उनले शान्ति विद्यागृह हाइस्कूलमा पनि शिक्षण गरे । साथै उनलाई सरस्वती कलेजका संस्थापक तथा प्रिन्सिपल शड्करराज पाठकले सो कलेजको प्राध्यापनमा पनि आबद्ध गराए । २०१५ सालदेखि नोकरी सुरु गरेका पन्त संस्कृत छात्रावासमा २०३० सालसम्म खरदार स्तरको शिक्षकमा कार्यरत थिए । नयाँ शिक्षा लागु भएपछि सरस्वती कलेज क्याम्पसमा परिणत भयो र उनी ठाडै उपप्राध्यापक बने । उनले संस्कृत छात्रावासबाट राजीनामा गरे । अनि उनले ४७ बर्षकोउमेरमा एम्एको परीक्षा दिए र पास पनि गरे । त्यसपछि उनी त्यस क्याम्समा सहप्राध्यापक भए ।

पन्त लेखनमा पनि घोटिई रहे । २०१२ सालमा सरस्वती सदनमा भएको कविता प्रतियोगितामा तेस्रो भएर उनी कविभूषण भए । त्यसबेला बालकृष्ण समले प्रसंशाको बक्तव्यका साथ उनलाई सो पदक लगाई दिए ।सोही समारोहमा लक्ष्मीप्रसाद देवकोटाले उनलाई 'बाबूले राम्रो कविता लेख्नु भयो' भनेका थिए । वास्तवमा सम र देवकोटाको उनीप्रतिको सम्वादपछि उनको साहित्यिक यात्रा फक्रन थाल्यो । उनले साहित्यमा समर्पित भए वापत आदिकवि भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, भूपाल पुरस्कार, रुद्रराज पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार पाए । साथै उनले अन्य सम्मान, अभिनन्दन र प्रशंसापत्रहरु पनि एक डोको पाए । अनि तक्माको हकमा चाहिं यिनले प्रवल गोर्खादक्षिण बाहु, गद्धी आरोहण रजतपदक र वीरेन्द्र ऐर्श्र्य सेवापदक पाएका थिए ।

नेपाली भाषासाहित्यमा सुविख्यात पन्त नेपाली कविताको वाणिर्क परम्पराका सिद्धहस्त कवि थिए । उनी गीत, कविता, निबन्ध, प्रबन्ध, कथा र समालोचनाका प्रखर स्रष्टा थिए । उनले खण्डकाव्य र महाकाव्य लेखेर आफ्नो नाउँलाई नेपाली कविताको शिर्षस्थानमा पुर्‍याए । यसैमाझ उनका जम्मा २३ वटा कृति प्रकाशनमा आए ।

पन्तको जन्म १९८६ साल असार ३० गते काठमाडौंमा भएको थियो । उनी मणिदत्त पन्त र ललितादेवीका छोरा थिए । उनी जन्मेको तीन वर्षा नै उनकी आमा स्वर्गीय भइन् । अर्को वर्षनेपालमा महाभूकम्पमा परेर उनको घर नै भत्कियो । तर उनका बुवाले केही वर्षउनलाई त्यही भत्केको घरको छिंडीको कुनामा राखेर हुर्काएका थिए ।

पन्त आँसुकवि थिए । उनी बोल्दा पनि प्रायः कविता नै बोल्थे । अनि बोल्दाबोल्दै उनी थला परे । लामो समयसम्म थलिएपछि उनले २०६५ साल वैशाख १८ गते आफ्नो चोला विसाए । त्यतिबेला यिनका शत्रुमित्रुमध्ये धेरैले उनीप्रतिको कृतिम र मौलिक वेदना पनि पोखे । अनि त्यसबेला पनि यिनका कविता चाहिं बोलिरहेका थिएः

फूलमाला सजाएर सिंगारे पनि के भयो ? लाठीमुड्ग्री बजारेर बिगारे पनि के भयो ? पञ्चामृत चढाएर फुर्क्याए पनि के भयो ? कुनै कुकुर आएर तुर्क्याए पनि के भयो ?


स्रोतः नई प्रकाशन - भरतराज पन्त २१ नोभेम्वर २०१८