भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुक्तिका सपनाहरू / कृष्ण धरावासी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:59, 9 मई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मुक्तिका सपनाहरू सब बेकार हुन्
मानिसहरू एक–एकवटा आस्थाको कीलोमा कैद छन् ।
एउटै रामलाई मर्यादापुरुष बनाउनका निम्ति
भक्तहरू रामभित्रको हराम देख्न असमर्थ छन् ।

ओ सिद्धार्थ गौतम ।
ओ एडोल्फ हिटलर ।
ओ जडभरत ।
कहाँ छ मानिसको मुक्तिफल ?
कहाँ हो यो आस्थाको धरातल ?
जसमा टेकेर मानिसहरू एउटा विश्वासको फल फल्दछन्।

सत्ताभरि त मानिस आफूलाई सम्हाल्नै व्यस्त छ
जीवनभरि त मानिस आफूलाई बचाउनै व्यस्त छ
आवाजभरि त मानिस आफ्नै वेदना कहन विवश छ
गतिभरि त मानिस आफ्नै आकाङ्क्षा दौडन विवश छ
फेरि कहिले ऊ आस्थाको उकालो चढ्ने हो ?
फेरि कहिले ऊ मुक्तिको बिपना देख्ने हो ?
मानिस त मानिसकै त्रासमा डुबेको छ
यी मीठा–मीठा सङ्गीतमय स्वरहरू सब बेकार हुन्
मानिस आफ्नै वेदनाको रोदनमा कैद छन्।

आदर्शहरूबाट एक–एकवटा खोल सापटी लिएर
दुष्टहरू पनि भक्तका समीप पुगे
एउटा–एउटा विद्रोहले
स–साना प्रशंसाहरूबीच शिर झुकायो
सत्ताका नङ्ग्रामा सुन्दर अनुहारहरू पनि विकृत बने
मानिसले आफूलाई आकाश बनाउन खोज्दाखोज्दै
उसको लक्ष्य सबै बेकार भयो
मानिस आफ्नै अनुहारमा कैद छन् ।
 

मानिस फुल्दै, फल्दै, पाक्दैर झर्दै गयो
भूगोलका प्रत्येक दूरीमा आफ्ना पाइला राख्दै गयो
दासहरू मालिक भए, मालिकहरू दास
दासता झन्–झन् लोकप्रिय र सभ्य भयो ।

मालिकहरू मुक्तिको सपना लिएर आउँछन्
मालिकहरू मर्यादाको उपदेश बोकेर आउँछन्
मालिकहरू आस्थाको कीलो गाड्दै आउँछन्
र मानिसहरू क्रमशः दास हुँदै जान्छन्
मुक्तिको सपना देख्दै जान्छन्
भक्तको मर्यादा पालन गर्दै जान्छन्
आदर्शको अर्थ केलाउँदै जान्छन्
ऐतिहासिक दासहरूभन्दा
महान् दास हुने यस होडबाजीमा
मानिसहरू आफ्नै प्रतिबद्धतामा कैद छन् ।