भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो छोरो पनि ठूलो मान्छे भएछ / किशोर पहाडी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:59, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किशोर पहाडी |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

वर्ष चौबीसको,
 गहुँगोरो,
च्युँडोमा सानो खत भएको,
 दुब्लो–दुब्लो,
चुरोट नखाने,
रक्सी नखाने,
अविवाहित,
घण्टाघर नजिकैको कलेजमा
आई. ए., बी. ए. र कुन्नि केजाति पढ्ने,
अग्लो–अग्लो
एक जना मेरो छोरो—
धेरै बाठो,
यस काठमाडौँमा कहाँ बस्छ खोइ ?
— म उसलाई खोज्न आएको।

म उसलाई खोज्न आएको—
गाउँबाट उसको बाबु
एक्लै–एक्लै/भौँतारिँदै,
यता खोज्दै/उता खोज्दै ।
मेरो छोरो—
साह्रै सोझो,
साह्रै कञ्चन,
 बोल्नवर्न बिघ्न बाठो,
जताततै अगाडि लाग्ने,
अलि रिसाहा—
उद्दण्ड बानी,
धेरै पढ्ने/धेरै लेख्ने,
भावुक–भावुक मेरो छोरो
यस काठमाडौँमा कहाँ डेरा गरी बस्छ ?
— म उसलाई खोज्न आएको
— उसको बाबु।
 
म उसको बाबु—
उसलाई अलिकति चामल लेराइदिएको
(भात पकाई खाला),
उसलाई अलिकति गुन्द्रुक लेराइदिएको
(च्वास्स अचार बनाउला),
पाखो बारी बेचेर
उसलाई अलिकति खर्च लेराइदिएको
(अभावले नपिरोल्ला),
उसकी आमाले बारीमा फलाएको
नासपाती लेराइदिएको
(खाजा बनाउला),
उसलाई यी सब माया–सद्भावनाका पोकाहरू
बुझाउन आएको—
— यो सहरमा कहाँ बसेको छ
खोइ मेरो छोरो ?

तर हरे।
जुलुसको माला लगाएर
आगोमा लडीबुडी खेल्दै हिँडेको
सारा नेपालले देखेको रहेछ उसलाई,
निडर छातीमा गोली थापेको
हाँस्दै–हाँस्दै ऐय्या... भनेको
साथीहरूले देखेका रहेछन् उसलाई,
रगतको आहालमा डुबेर
निसास्सिएको/छटपटिएको
वरपर सबैले देखेका रहेछन् उसलाई,
र अहिले म
रमागृहको सूचनापाटीमा टाँसिएको
उसको भव्य अनुहार देखिरहेको छु,
— आहा । मेरो छोरो पनि ठूलो मान्छे भएछ ।