भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

युद्धको पक्षमा / पुरुषोत्तम सुवेदी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:01, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=पुरुषोत्तम सुवेदी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आँखामा जुन उन्माद छ
सपनाको उज्यालो फ्रेममा
त्यो निद्राबाट रूपान्तरित होइन
जीवनबाट निःसृत जीवन नै हो
जसका लागि लड्यौँ हामीहरू
उज्यालो युद्धको निरन्तरता ।

कहिले घामपानी देखियो इन्द्रेनीसाथ
कहिले खुल्ला आकाशमुनि
आशाका रङ्गीन किरणहरू देखिए
तर हामी एकनास लड्यौँ
आस्था–युद्धका मोर्चाहरूमा ।

कहिलेकाहीँ उठे हामीलाई बिथोल्न
केही मसिना महत्वाकाङ्क्षाहरू युद्धविरोधीहरूका
तर हामी हारेनौँ,
बरु थपिए हाम्रा साथ हजारौँहजार हातहरू
जोगाउन जीवनको निरन्तरता
हत्याराहरूको हातबाट ।

हाम्रो लक्ष्य हामी नै हौँ
हाम्रो सपना हामी नै हौँ
लक्ष्य र सपनाको विरोधमा जोसुकै आऊन्
तिनको विरोधमा हामी लड्नेछौँ।

यो निरन्तर युद्धमा
यो आस्था–युद्धमा
बलिरहेछन् एक जोर आँखा
जसको रक्षाका लागि
हामी युद्धको पक्ष लिन्छौँ
र, आँखामा हाम्रो सपना आरोपित गरेर
हामी युद्ध गर्छौं, निरन्तर युद्ध ।