भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँँ / उपेन्द्र श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:05, 26 सितम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उपेन्द्र श्रेष्ठ |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म इतिहास नदी भएको छु
म धर्मचक्र, युद्धले गाडिएको छु
हो, यो कुरा अतीतको
अजातशत्रु र विम्बसागरको
युद्धको कथा
शंकराचार्यले जलाएको बौद्धग्रन्थको कथा
म पाण्डुलिपि
मानिसहरुको रगतै–रगतले बिटुलिएको
त्यो खड्ग र तरवारले काटिएको
ती बालक, वृद्ध र युवक, युवतीहरु म नै हुँ;
त्यो गंगाको चीत्कार
र मानिसहरुको क्रन्दन म नै हुँ ।
मस्तिष्कबिनाको म घाँटी
कुनै शिलापत्रमा उल्लिखित नभएको
म हुँ यो नीलो रगतको कथा
आफ्नो रगत चोपेर यो पञ्जाले
यो निरक्षर च्यामेका छाप्राहरुमा
आरक्षण नपाएका घरहरुमा
म गोधूली भएर
म आफू काटिएको कथा लेख्नेछु
शीर्षकबिना
........... म चेतना
............ म प्रकाश ।
यी शताब्दी पुराना हत्याका कुराहरु
यी गिद्ध र चिलहरुले ठुँगेका कुराहरु
म भन्छु मेरा साथी ! यी रगतका पानाहरुमा म मरेका कथाहरु
यी ब्यूँझाउन नसकेका बिहानहरुमा
यी पुरातत्व र म्यूजियमहरुका भित्ताहरुमा
म खण्डित भएर पनि 'इतिहासमा' जीवितै छु
यी मन्दिर र देवलहरुको मूल्यमाथि लावारिस छु
म बौद्धग्रन्थ
मूर्तिपूजा र स्तुतिले ग्रस्त छु
म आदिबुद्ध
काटिदिएका छन् मेरा पखेटाहरु
हत्या गरिदिएका छन् मेरा आत्माहरु
खण्डित गरिदिएका छन् मेरा चेतना र अहमहरु
म कुंजो भएको छु
म सामन्ती–संस्कारले ग्रस्त छु ।
म बौद्धधर्म र दर्शन
बोधिवृक्षबाट म अपहरण भैसकेको छु
कैयन् शासकहरुको खड्ग र तरवारले काटिएर पनि
म घाइते भएर पनि बाँचेकै छु
"संघम् शरणम् गच्छामि"
"बुद्धम् शरणम गच्छामि"
शंकराचार्यको लाशले थिचेको बौद्धग्रन्थ म नै हुँ
कैयन् हिंसा र युद्धको आगोमा म डढेको आत्मा हुँ
म शून्यदर्शन
मध्यैशिया खोतनलिपिको तालपत्रमा खिइएर पनि म बाँचेकै छु
त्यो शिवालयहरुले थिचेको चारढुङ्गे म नै हुँ
मैले पोल्ने आगोको तातो राप सहेको छु
तर, म शिवको चिहानै–चिहानहरुको समाधिमा बोधिवृक्ष
भएर अमूर्त छु ।
म अवलोकितेश्वरको आत्मव्यथा
आगोको राप
म दसभूमीश्वरको पीडा र यातनाको हस्ताक्षर
यो चैत्यविहारमा
यो भित्तिचित्र र मूर्तिहरुमा
अहिले पनि पसीनाको सीपमा म मूर्त छु ।
यो हिंसा, हत्या र क्रान्तिमा मरेर पनि म मानस भएको छु
वा धार्मिक सम्प्रदायको दङ्गामा पिसिएर पनि म हिमाल भएको छु
म खण्डित चेतना र प्रकाश
म पहाड, नदीको धार भएको छु
म वैशाली गणतन्त्र
विम्बसार र अँगुलीमाला
मभित्र रक्तरंजित सूर्य उदाएको छ
मभित्र रक्तरंजित सूर्य अस्ताएको छ ।
म यौनकुण्ठित 'आम्रपाली'
म जीर्ण शरीर, अकाल, अभाव र यौनपीडा लिएर
म 'नगरवधू'
मभित्रको मेरो भत्काइमा, कैयन अजातशत्रुको भत्काइएको
इतिहास छ
मभित्रको पीडाले
मभित्रको व्यथाले
मैले अचानो जस्तै खुकुरीको प्रत्येक चोट सहेको छु
कैयन साम्राज्यको उत्थान र पतनको सूर्य मैले देखेको छु ।
म दर्शन ।
म वज्रघरको शिलापत्र
म खण्डित ताम्रपत्र
नामहीन
संज्ञाहीन
शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ ।