भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सालिक च्यातिरहेको सहिद / जोतारे धाईबा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:18, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= जोतारे धाईबा |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


यो हदभन्दा सानो कद
ध्वाँसोमा लपेटिएको जड चोला
उठ्न लागे ठोकिन्छु यसमै
बस्न लागे जकडिन्छु ।

अहँ सरकार !
म अटाइनँ यो टापु प्रदेशमा ।

संघर्षको भुमरीबाट छुटेको रकेट
बस्ने ठाउँ यही हो ?
यही हो परिवर्तनको मांसल आत्मा
पारिएको सुकुटी ?
न यी कानले सुन्न सक्छन्-
बादलजस्तै गर्जने बुलन्द नारा
न लतारिएका हात उचालिन्छन् -
खबरदारी मुट्ठीहरूमा,
ओठको दहभित्र किन गायब छ
फुरफुर नाचिराख्ने
जिब्रोको त्यो कत्ले माछो ?
उफ्, सक्दै सकिनँ प्रभु !
म बाँचिनँ यो खम्बामा ।

हरदम भित्रभित्रै
बाफिएरै बस्छ पसिना
घामको ऐनाले उज्यालोबिना सरक्क हेर्छ मात्रै,
यही मगजको भुङ्ग्रोभरि पलाएको ढुसीमा
चिप्लेटी खेल्दै मूच्र्छा परिरहन्छ- विद्रोह ।

सडकको साँघुरो चौबाटो
गल्लीको सुनसान मोड
सहरका जर्जर भित्ताहरू
कुरिरहनु/निश्चिन्त उँघिरहनु
पीडा भयो सरकार !
म अघाइनँ यो भोको घेरोमा ।

यो सालिकको किताबमा
मेरो जीवनको पन्ना-पन्ना
खोइ, कहाँ अटाएको छ ?
यही थुम्के पर्वतमा
बरफ भएझैँ छन्
युगभरिका आकांक्षा ।

सालिक भइसकेर पनि
छुट्टी कहाँ पो छ र !
जनाउनु छ हाजिर अझै
पर्खिरहेछ मलाई यो जर्जर लोक ।

निस्किनु छ यो वृत्त बाहिर
दिनु छ हात
सपनाका अलपत्र औँलाहरूलाई ।

म उठेँ ।