भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आर्यघाटमा केही लेखिरहेको छैन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यस्तो बेलामा
मान्छे आम मान्छे भए
झोक्राएर बस्ने थियो कुनामा
वा फाल हाल्ने थियो भीरबाट खोल्सामा
वा एक गिलास पानी खाने थियो, धारामा थापेर ।

तर सबै म विशिष्ट हुन्छ
त्यसैले म
त्यसो गरिरहेको छुइनँ ।

यो बेलामा, यस्तो बेलामा
म केही लेखिरहन पनि सकिरहेको छुइनँ ।

बिर्सिएको छु मैले अक्षरहरूलाई
शब्दहरूलाई, मसीहरूलाई
रङ्गहरूलाई ।

त्यसैले म टोलाइरहेको पनि छुइनँ

लेखिरहेको पनि छुइनँ ।

यो रातभरि
कोल्टे फेरिरहन पनि सकिरहेको छुइनँ
निदाइरहन पनि सकिरहेको छुइनँ
तिमी नै जसरी ।



मलाई विश्वास भइरहेछ
तिमी पनि यो नाटकजस्तो जीवनदेखि दिक्क छौ
यो अभिनयदेखि आजीत छौ
म नै जसरी ।

तिमी पनि
मान्छेका लस्करहरूको चोर ‍औंलादेखि डराउछौँ
र आफूलाई
तिनै चोरऔंलाहरू बाटिएर बनेको समाजका लागि
चरु बनिदिन्छौ -
स्वाहा !
स्वाहा !
स्वाहा !

यो ॐ विनाको स्वाहा हो
यहाँ शान्ति छैन मनहरूमा
यहाँ नदीहरू बग्दैनन्
यहाँ मान्छेहरू भीड मात्र हुन् ।



यो सृष्टिमा
सिर्जित हरेक वस्तुमा संवेदन हुन्छ
यहाँ स्वास्नीमान्छेहरूमा संवेदन हुन्छ
यहाँ लोग्नेमान्छेहरूमा संवेदन हुन्छ
यहाँ जोसुकै मान्छेहरूमा संवेदन हुन्छ ।
तर पनि
यहाँ मान्छे
झुण्ड बनाएर आफू हराउने गर्दछ

संवेदन बिलाउँछ
बाटिएका चोरऔँलाहरूमा ।

मैले स्वास्नीमान्छेलाई चिन्न सकिनँ
मैले लोग्नेमान्छेलाई चिन्न सकिनँ

मैले मान्छेलाई पनि चिन्न सकिनँ ।

यी तीनवटैको अनुहार कहिले बिल्कुल एउटै हुन्छ
कहिले मुसो र मिसाइल जस्तो पृथक ।



यो मान्छेहरूको बस्ती हो ।
भन्नुको अर्थ; यो मान्छेहरूको पनि बस्ती हो ।

यो मान्छेको बस्तीमा रात
दिन नबिराई आइरहन्छ ।

मान्छेलाई रात चाहिन्छ
निद्रा लागेको बेला सुत्नलाई
नलागेको बेला कोल्टो फेर्नलाई
अघिको दिन सम्झनलाई

अरु पनि केही गर्नलाई ।



झ्याऊँ झ्याऊँ झ्याऊँ झ्याऊँ झ्याऊँ
किक् किक् किक् किक्
सररर सररर
हलो हलो हलो माइक टेस्टिङ्
छैंया छैंया छैंया छैंया
ए ! क्या बोलती तू
घर्रऽऽऽऽर
किटिक् खिटिक् किटिक् खिटक्
यो
रातको बोली हो
मेरो कोठामा ।

पिलिक्क झ्याप्प, पिलिक्क झ्याप्प
पिलिक् पिलिक् पिलिक्,
रातो इन्डकेटर
मस्क्यूटो डिस्ट्रवायरको बत्ती
भित्त्ताको ऐना;
यो
रातको अनुहार हो
मेरो कोठामा ।

यस्तोमा मान्छेले (आम मान्छेले )
स्लिपिङ पिल्स
भेलियम फाईभ वा टेन खान्छ ।
तर, मान्छेको म विशिष्ट हुन्छ।
त्यसैले
मले त्यस्तो केही खाँदैन ।

मैले त्यस्तो केही खाइरहेको पनि छैन
मैले कलम चलाइरहेको पनि छैन
मैले आँखा उघारिरहेको पनि छैन
मैले आफूलाई निदाइरहेको पनि छैन
मैले निद्रालाई कोल्टे फेराइरहेको पनि छैन ।



मान्छेको शरीर
मान्छेको सिर्जना होइन
प्रयास मात्र हो ।

शरीरमा अंग हुन्छ
अंगहरू हुन्छन् ।

तिमी निदाएको छैनौ
म पनि निदाएको छुइनँ ।

मुटु चल्दैछ
टुक टुक ।
नाईटोमा ।

सृष्टीको अनुहार टाँसिएको छ
मेरो छायामा ।



कसैले सोध्यो
तिम्रो गाग्रोमा पानी छ ?
मैले नरिवलको रुखको पात देखाइदिएँ ।

मान्छेको भाग्य त्यस्तै त छ आखिर !
जीवन जस्तो
चिरैचिरामा सग्लिएको ।
मायाको तातो

बाटेका औंलाहरूको चिसो मिसिएर ।



छोप, छोप
केशहरूले छोप नाईटोलाई,
ढुकढुकी माथितिर सरोस्
छातीको अलि नजिक ।

सृष्टिको हरेक कुरामा संवेदन हुन्छ
नाइटोभन्दा माथि पनि
नाइटोभन्दा तल पनि
त्यसले त संसार चलेको छ
टुक्रा टुक्रा जोडिएर
अरु टुक्रा उमार्नलाई ।

तर
यो रातमा
म केही लेखिरहन सकिरहेको छुइनँ
कोल्टे फेरिरहन पनि सकेको छुइनँ
निदाइरहन पनि सकेको छुइनँ
बिउँझिरहन पनि सकेको छुइनँ
उज्यालो पर्खिरहन पनि सकेको छुइनँ ।

आर्यघाटमा
भोलि पनि घाम उदाउने छ ।



जीवनमा
सुकेका पातहरू खसिरहेका पनि हुन्छन्
हावाहरू उडिरहेका पनि हुन्छन्
पानीहरू बगिरहेका पनि हुन्छन्
नदीहरू वरपर सरिरहेका पनि हुन्छन्
रातहरू गहिरिरहेका पनि हुन्छन्
ताराहरू छरिरहेका पनि हुन्छन् ।

सनपाट र बाबियो मिसाएर
केको डोरी बाटनु ?
पिङ्‌का लिङ्गाहरू कता फर्काउनु ?



तिमीले सोध्यौ, जीवन के हो ?
मलाई भन्न मन लाग्यो - मृत्यु,
कसैले सोध्यो, गन्तव्य कहाँ हो ?
मलाई भन्न मन लाग्यो - मृत्यु,
उसले सोध्यो, प्राप्ति के होला ?
मलाई भन्न मन लाग्यो - मृत्यु,
जो सुकैले सोध्यो, सृष्टि के हो ?
मलाई भन्न मन लाग्यो - मृत्यु,
सबैले सोधे, मृत्यु के हो ?
मलाई भन्न मन लाग्यो - मृत्यु ।

न्यूटनले, रदरफोर्डले, बोरले
विज्ञान जम्मा गरेर भने
क्षय - अणुको गतिको परिणाम – शून्य – मृत्यु ।

विज्ञान मृत्यु
भोक मृत्यु, ज्ञान मृत्यु
शक्ति मृत्यु, एटम मृत्यु, युद्ध मृत्यु
जीवन मृत्यु ।

मलाई आज किन जे सुकै मृत्यु लागिरहेछ ?



यो रातमा
यो मेरो कोठामा
सूर्य मृत छ
उज्यालो मृत छ
मन मृत छ
केवल जीवित छ
एउटा अस्तित्व
जीवन्त छ त
बस्, यो कलम ।

आर्यघाटमा
सधैँ घाम उदाउने गर्छ ।