एक मुठी उज्यालो / निमेष निखिल
एउटा भ्रामक साङ्गीतिक सम्मोहनमा
म आफै हराउँदै हराउँदै गएको अनुभव गर्दै छु आजकल।
कैदी सपनाहरूको उन्मुक्ति आशा बोकेर
धेरै भयो समय―अदालतका ढोकाहरू ढक्ढक्याएको
तर्कहरूको जङ्गल र
कथित प्रक्रियाहरूका उकाला ओरालाहरू नाघ्दै
विस्थापनका घुम्तीहरूमा खोज्दै छु बास एक रातको
अवचेतनको निर्जन आकाशभरि
एकनास उडिरहेछन् चिलका बथान
पहिरो भत्केको वर्तमानबाट
चिप्लिरहेछन् आशाका भग्नावशेषहरू क्रमशः क्रमशः
चेतनाको नाममा खस्ने हो कि आफैले ओढेको आकाश
भासिने हो कि आफैले टेकेको धरती
लम्पसार छ भय सोचाइको सीमान्तसम्म
खस्ने हो कि सूर्य मध्याह्न―समयमा टाउकैमाथि
भएभरको आत्मीयता च्यातेर
प्रहार गर्ने हो कि हतियार सहयात्रीले― सहयात्रामै
घरछेउको खहरे पस्ने हो कि कोसी बनेर घरभित्रै
आफ्नै अवसानको खबर बोकेर
तेर्सिन आइपुग्ने हो कि कुनै खबरपत्रिका आफैअघि ???
प्रतिपक्षमा उभिएपछि बलशाली समय
जीवनका सबै भगीरथ प्रयत्नहरू निष्फल हुँदारहेछन्
बिच बजारमा हराएका मान्छेहरूले
हेरौँ कहिले भेट्टाउँछन् आफैभित्रको आफूलाई ???
थाप्लोमा वेदनाको सगरमाथा नै खस्दा पनि
एक मुठी उज्यालोको आशा त कहाँ मार्न सकिँदो रै‘छ र !