Last modified on 15 फ़रवरी 2022, at 15:45

जब मान्छे मान्छे मात्रै हुन्छ / शारदा शर्मा

संवेदनाका विन्दुहरूमा
मानवीयताका स्पर्शहरूले
तिमी मान्छेलाई छाम्ने गर कहिलेकाहीं
ऊ कति फरासिलो, मायालाग्दो र सुन्दर हुन्छ,
कति कोमल, सहृदयी र उर्वर हुन्छ !

भावनाका अविरल वहावहरूमा
एकान्तका विचलित उडानहरूमा
सहानुभूतिका आर्द्र तरङ्गहरूले
तिमी मान्छेलाई छने गर कहिलेकाहीं
ऊ कति अकिञ्चन, निरूपाय र असहाय हुन्छ,
कति एकलो, कमजोर र तरल हुन्छ !

प्रेमका शाश्वत मूल्यहरूमा
ममत्वका हार्दिक आग्रहहरूले
आँखाका सङ्ला पोखरीहरूभित्र
तिमी मान्छेको यथार्थ विम्बलाई खोज्ने गर कहिलेकाहीं
ऊ कति भावुक, आत्मीय र न्यानो हुन्छ,
कति महान्, निर्मल र उँचो हुन्छ !

भयङ्कर खाडलहरू बोकेर आफूभित्रै
आफ्नो चिहान खन्दै-पुर्दै
अभाव, रिक्तता र विषादहरू पालेर बाँचेको मान्छे,
कहालीलाग्दा विकट यात्राहरू तय गरेर,
आँधी, तूफान र प्रलयहरू झेलेर
चोटिदै, भत्किदै, बन्दै
यौटै जिन्दगीमा
सयौंचोटि सल्किदै, निभ्दै, बल्दै
सम्भावित युद्धहरूको तयारीमा
आफूलाई यथासम्भव समेटेर
प्रत्येक क्षण सतर्क भएर दौडिरहेको यान्त्रिक मान्छे,
तूफानको सास फेरिरहेको वेफुर्सदी राक्षस मान्छे,
हो, त्यही मान्छे
जब
यावत् आवरण र नकाबहरू उतारेर
यदाकदा व्यग्र बनेर
साँच्चैको मान्छे बनेर
एक्लै आफूलाई खोजिरहेको हुन्छ,
यस्तै नाजुक प्रसङ्गहरूमा
यस्तै अनावृत क्षणहरूमा
तिमी पढ्ने गर, आँक्ने गर मान्छेका सीमा र सामर्थ्यहरू
सत्यका प्राकृत मापदण्डहरूले
नाप्ने गर उसका लम्बाइ, चौडाइ र उँचाइहरू
सम्पूर्ण विवाद, आडम्बर र जटिलताहरूका बावजूद
ऊ कति प्यारो, सरल र निष्कपट हुन्छ,
 कति चोखो, निष्पाप र निर्दोष हुन्छ !