Last modified on 23 जून 2020, at 15:37

जहाजमा उडिरहँदा / रमेश क्षितिज


झ्यालनेर बसेर जहाजभित्र
कतै सङ्लो आकाशमा उडिरहेको छु चराजस्तै

मेरो पखेटामुनि छ पटुकाको फेरझैँ लत्रिएको बाटो
खोलाको किनारमा बालापनमा खेलेका
वालुवाका घरजस्ता स–साना पहाडहरू
र समय बिताउँन निरुद्देश्य
घुमीहिडेको पर्यटकजस्तो बादल

दिनभरि उड्दा नाघेहुँला मैले कहिल्यै छुन नसक्ने उचाइ
सयौं चुलीहरू वा कहिल्यै नपुगेका प्राचीन सहरहरू
काटेहुँला एकैछिनमा
उमेरभरी हिडेर नकाटिने बाटो !

एकै दिनमा अनुभूत गरें अनेक ऋतु
जहाज चढ्दा सिमसिम पानी पर्दैथ्यो काठमाडौँमा
बैंककको प्रचण्ड गर्मी
टोकियोको थर्थरी कपाउँने जाडो एकै दिनमा भोगेँ आज

सधैँ सम्झिरहने स्मृतिको चिनो
दिएर टाढा भए केही असल मानिसहरू यात्रामा
जससँग फेरि कहिल्यै भेट हुँदैन सायद !

जहाजभित्र प्रसारण भइरहेछ यसबेला अवतरणको सूचना
मभनेँ मानौँ सुनिरहेछु
कुनै दिव्यवाणी - अधिकतम बाँच्नसके अर्थपूर्ण क्षणहरू
र हवाइयात्राजस्तो गतिशील हुनसके मानिसको जीवन
धेरै धेरै लामो हुन्छ दुईदिनको जिन्दगी !