भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूलको कथा / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उहिल्यै–उहिल्यै...
फूलहरू कविता लेख्थे ।

फूलहरू–
आदिकवि थिए
महाकवि थिए
युगकवि थिए
जनकवि थिए
उहिल्यै–उहिल्यै...

एकदिन–
अनायास यौटा फूल हरायो
सारा फूलहरू रोए

असङ्ख्य भावुक फूलहरूको जीवन दुःखमा डुब्यो ।

अर्को दिन
अर्को फूल हरायो–
फूलको संसारभरि हाहाकार मच्चियो
सारा फूलहरू आगो भए
धर्तीको सौन्दर्य धुवाँ भएर अक्कासियो
फूलहरू–
राजा भए
 
नेता भए
किसान भए
मजदुर भए
अफसोच ! फूलले फूललाई नै शोषण गर्न सुरु गर्‍यो !

कवि फूलहरूले विद्रोह गरे
न्याय र समानताको कविता लेखे
मुक्ति र स्वतन्त्रताको कविता लेखे
शोषित फूलहरू जुरमुराए
उठाए हतियार र भिरे आआफ्ना कम्मरमा
असङ्ख्य फूलहरू फूलहरूबाटै शहीद भए
सारा फूलबारी रङ्गियो प्रभाती किरणले ।

धेरै पछि–
मान्छे फेरि त्यहाँ पुग्यो
फूलहरू–
आफ्नै हृदयको रगतले पोतिएको झन्डा फरफराइरहेका थिए–
भीर
पहरा
गमला र आँगनवरिपरि...

मान्छे चुपचाप फर्कियो र भन्यो
हे ईश्वर ! सबै फूलहरू मान्छे भइसकेछन्
मैले तपाईंलाई फूल चढाउन सकिनँ !
उहिल्यै–उहिल्यै...।