भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म, तिमी, हामी / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आकाश पुग्ने गोरेटो खोज्दै
सधैँ सधैँ म साँझमा रुन्छु
झार्दै आँसु बलेसीमा, सँघारमा
यस्तरी सधैँ पिउन दिँदै समयलाई
मेरा जीवनका रमाइला क्षणहरू...म डराउँछु ।
डराउँछु : यी आपत्तिहरूदेखि व्यर्थका सधैँ
यी पहाडका चोटहरू, यी बादलहरूदेखि विश्वका
डराउँछु ! डराउँछु : यी माटाका साँग्लाहरू, रगतका रेखाहरूदेखि सधैँ
डराउँछु : यी अनावश्यक, आवश्यकताहरूको थुप्रोदेखि सधैँ
डर सबलाई हुन्छ । चाहेर कोही डराउँदैनन् । खुशीले कोही डराउँदैनन् ।
म डराउँछु खुशीसित पनि- खुशी सधैँ परिहास हुन्छ !
परेलीको पसिनानै मेरो खुशीको सामग्री हो बरु मेरो बाँच्ने इच्छा ।
म त्यहाँ सम्झन्छु, जुन तिमी सम्झन्छौ
मेरो जीवनले मलाई पनि माया गरेकै छ
मेरो जीवनको आस्था मप्रति छँदैछ
आस्था
आस्था नै त हो, हो आस्थाको अर्ध्य चडाएर नै त
तिमीलाई आकाशमा सम्झेको छु, तिमीलाई ममा सम्झेको छु ।
आस्था नै त हो मेरो जियाइ :
चौरस्ता जस्तै, एउटा सालिग जस्तो !
चौरस्ताभित्रको सालिग जस्तै !
घेरामा हालेर सधैँभरिको लागि
रमिता बनाएको छ मान्छेलाई संसारलाई मान्छेको
हराएको छ बिगारेर आकाशलाई मान्छेको
यो समय जस्तै छ। प्रत्येक मान्छेको समय यस्तै छ ।
एउटा कथा हो, यो एउटा समाप्तिको आरम्भ हो ।
समयको माया हुँदैन
खोलाको भरोसा हुँदैन
खोला सधैँ बग्छ त्यसको सीमा हुन्छ
मान्छे सधैँ बाँच्छ उसको मृत्यु हुन्छ
खोलाको सीमा र बगरका रेखाहरूले त बनाउन सक्यौँ
हामीले घरका नेपालहरू :
माया र भरोसाले नै ताप्न सके पड्काएर मानिसकै आस्था मानिसले
हनोइका निहारहरूका आँसुका बाफहरू
मान्छेका रगतका रक्सीहरू :
हामी सबै छौँ जति छौँ, सबै छौँ
हारेर आफैदेखिन्,
हातका पसिनादेखि डराएर भागेका हामी
आँखाका भरोसा र मायादेखिन्
सपनाका महत्वाकांक्षादेखि ठगिएर आफैदेखिन् !!