भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरी बुढी आमा / चन्द्र घिमिरे
Kavita Kosh से
आमाको पावरहाउसले
सँहदा लाखौँ मेगावाट ठक्कर,
धैर्यता र मौनता
लाइन बिनै घरमा ममताको बिजुली बल्छ ।
उइल्यै माइतबाट आमाले
लजाउँदै लेराएको बैँसको रँग
आँख्ला आँख्लाबाट फुङ्ग उड्यो
लहसिएर लोग्नेसित
मायाले छोराछोरीसित
डुब्नाले नाति नातिनासित
बचेखुचेको दबिएर
विधवा भाको सादा मजेत्रोसित ।
लुटिँदा बोकिनन्
उजूर–बाजूरको झोला
बत्ती कातेको रात सन्तोकले निदाउँछ
आमाको लाखबत्ति भाकल
सन्तानकै लागि ।
लिँदिनन्, मात्रै दिन्छिन्
लाख गरे नि ओखती खाँदिनन्
दूरदेशबाट फोनले
‘आमाऽऽऽ’ भन्दिँदा हुन्छिन् निको
आँसुले निथु्रक्क आशीष वर्षाउँछिन् ।
प्यारो छ उनको खोटो आँखालाई
बाको पहेँलिएको पुरानो फोटो
र बाले जोडेको यो वृद्ध घर
जहाँ सशरीर उनी मक्किइन् ।