मेरो घडेरी / मनप्रसाद सुब्बा
आफ्नो घडेरी चैँ छानोबिना बेस्याहार छोडिराखेर अरू कस - कसको
घर बनाउनमा व्यस्त र मस्त म कहाँ - कहाँ डुलिहिँड्दै कति पुस्ताहरू
बिताइसकेछु।
अचम्मै गर्वले क्षितिजदेखि क्षितिजसम्म फैलिएको मेरो छातीमा समग्र
देशलाई नै बोकेर हिँड्ने भएको म यो आफ्नो सानो घडेरीको सानोपनले
नसमातिएर फराकिँदै फराकिँदै रमारहने भएको थिएछु।
आफ्नो घडेरीको गहिरो सुँकसुँक सुन्दासुन्दै पनि ठूलो देशको मुस्कान
फुलाउन यो जीउज्यानमाथि नै हलो - कोदालो चल्न दिइरहेँ।
सिङ्गो देशै बटनफूल खिलेर हिँडिरहने मैलाई तर देशले नै नदेखेपछि
मेरो घाइते घडेरीले मलाई जोड-जोडले पुकारेर भनिरहेछ : हिमाली
धुरी अग्लो उचालेर छानो हालिहाल ममाथि....
घडेरी मलाई नियालेर हेर्छ -- क्षत-विक्षत छु म ।
घडेरीलाई म नियाल्छु -- क्षत-विक्षत छ यो ।
मेरो छातीको घडेरीमा लहलह उम्रिएको कति हेक्टेयर आत्मसम्मानलाई
कुन्नि कोहरू आएर कब्जा गरिराखेको छ । त्यहाँ हड्डीको ढुङ्गामा
खोपिएको इतिहासको आधा अध्याय बाबुको भेषमा आएको एक
फटाहाले झुक्क्याएर बोराको कुशनसित साट्यो ।
यी सप्पैलाई सँगालेर सलक्की पार्नुछ । आधारातको अँध्यारोमा साटेको
त्यो आधा अध्यायलाई उद्धार गर्नुछ अनि यो घडेरीमाथि घर
ठडयाइहाल्नुछ।
घर नै थर हो ।
ए घरपट्टि बाबै... देउसिरे !
ए घरपट्टि आमै...
धत् ! बन्द गर यो नाटक !
अब मलाई साँच्चिकै घरपट्टि हुनुछ।
( १/२ अगस्ट २००८)