Last modified on 3 जुलाई 2021, at 08:28

वा र अथवा या कविता / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:28, 3 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मैले लेख्न शुरू गरेको, र
तपाईँले पढ्न थाल्नुभएको
अक्षरहरूको यो थुप्रो
एउटा कविता हो ।

मैले भोलि अभिव्यक्त गर्ने, र
तपाईँले मन लगाएर वा करैले, पूरा वा
आधा सुन्नु हुने, अथवा सुन्दै नसुन्नु हुने
शब्दहरूको प्रवाह पनि
एउटा अर्को कविता हुनेछ ।

तपाईँ सन्देह गर्नु होला, अथवा
अस्वीकार गर्नु होला-
यो कसरी कविता भयो?

आफ्नो चेतनाको आकारभित्र फैलिएर वा खुम्चिएर
आफ्नो संवेदनाको गहिराइभित्र डुबेर या कुँजिएर
वा आफ्नो कल्पनाको परिधीभित्र मडारिएर, अथवा
आफ्नो विचार, दर्शन या जे केहीसँग साँधेर
यसलाई मनपराउन वा मन नपराउन पाउनु हुन्छ,
ज्यादा बाङ्गो अथवा अति नै खल्लो भन्न सक्नु हुन्छ,
लालटिनजस्तो, मट्याङ्ग्रोजस्तो या लिटोजस्तो भन्न पनि पाउनु हुन्छ,
ईश्वरबल्लभजस्तो, मोहन कोइरालाजस्तो, अथवा
कुनै समाचारको चिर्कटोजस्तो भन्न पनि पाउनु हुन्छ,
बेवास्ता गर्न वा गालि गर्न पनि सक्नुहुन्छ तपाईँ यसलाई;
तर यो कविता हैन, भन्न पाउनु हुन्न ।

यसलाई मैले कविता हो भनिसकेँ
त्यसैले यो कविता हो।

यो कविता हैन, भन्ने
कोसँग, के प्रमाण छ?