पहाडतिर बाढीले
असार–साउन लाग्नासाथ
मानसिक सन्तुलन गुमाएका लठ्ठकहरूजस्तै
निरङ्कुश मगज बोकेर
फगत तागतले मातिँदै
आफ्नो लक्ष्यको समुद्रसम्म पुग्न
बाटोमा पर्ने
निर्दोष गाउँ–बस्तीहरू बगाउँदै
निरपराध गाई–वस्तुहरू सोहर्दै
र सोझासाझा पहाडहरूलाई भत्काउँदै
चारैतिर पहिरो लान्छ ।
तराईमा बाढीले
निर्बल घर–गोठहरूभित्र
नुनिलो आँसुको भेल हुल्दै
कलिला इच्छाहरूलाई अकालै डुबाउँदै
कस्तरी ज्यान–धन नाश पार्दै
हाम्रा सपनाहरू मास्छ ।
हामी जबसम्म
निरङ्कुश बाढीको बाटोमा
बलियो बाँधझैँ उभिन्नौँ
र दृढ पहाड बनेर तगारो हाल्दैनौँ
तबसम्म निरङ्कुश बाढीले
हाम्रो जीवनमा
सधैँ–सधैँ पहिरो ल्याउने छ
र मास्नेछ हाम्रा सपनाहरू ।