हिजोसम्म
मेरा दुई खुट्टाहरू
कुनै घडीका काँटाहरूझैँ
एक अर्काको अघिपछि
एकै साथ र एकै दिशामा
समयसँग ताल मिलाउँदै
समयको मधुर सङ्गीतको लयमा
एउटै धुरीको वरिपरि
फन्को मार्दै
नाच्दै–झुम्दै
र मोहक नृत्य गर्दै
समयको रफ्तार पछ्याउँदै
लक्ष्यको खोजीमा निरन्तर गतिशील थिए ।
तर आज म
त्यही घडीका काँटाहरूझैँ
समयको गतिशील कदमलाई पछ्याउन असमर्थ
समयको निरन्तरतालाई रोक्न असमर्थ
र समयको रहस्यलाई बुझ्न असमर्थ
समय पछ्याउने क्रममा
हात पारेको असफलताले लज्जित
र थकित
समयको डोरीले नै
आफ्नो घाँटीमा पासो हालेर
बूढो भित्तेघडीको पेण्डलुम बनेर
झुण्डिएको छु शून्यतामा ।