Last modified on 12 जून 2020, at 10:28

कहाँ छैन र ईश्वर यो संसारमा / सुमन पोखरेल

कहाँ छैन र ईश्वर यो संसारमा
मेरो हर यात्रा उसकै प्रदक्षिणा

सुन्दछु म शब्द जति नै
वाणी हो सब ईश्वर कै
म जहाँ हेर्छु उसको दर्शन हो
मेरो कर्म नै उसको उपासना

छुँदछु म जे जति ठाउँ
ढोगेको हो ईश्वरको नाउँ
म बेहोशी मै बर्बराए पनि
हो ईश्वरको नै प्रार्थना

खाएको मैले सवैथोक नै
चढाएको हो नैवेध ईश्वरलाई
बोल्दछु जे म नीत दिन
उसकै नै हो आराधना

मेरो जे छ, सबै हो ईश्वरको
यो शरीर हो मन्दिर उसैको
हृदयको धड्कन हो भक्ति गान
मेरो हरेक सास उसको वन्दना