प्रिय !
जाऊँ हिँड त्यो ठाउँमा
जहाँबाट छर्लङ्ग देखिन्छ हिमाल
र शुरु हुन्छ यसको सीमाना
त्यहाँसम्म आई खोजिरहन्छ
तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !
सङ्लो, सङ्लो
शुभ्र, स्निग्ध
बसिरहेको......... उठिरहेको
आफ्ना चुली आफै पार गरी गरी
सयौँ पर्वतसम्म गएको
ऐनैऐनाको स्निग्ध हेराइमा
बोलाउँछ
आफूले आफूलाई हेर्न
तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !