मेरी आमाले
कोक्रोमा हल्लाउँदा–हल्लाउँदै
निश्छल विचार भरिदिएकी थिइन् मस्तिष्कमा
भाँडाकुँटी खेल्दा–खेल्दै
संसार जित्ने शक्ति दिएकी थिइन् पाखुरीमा ।
काखमा राखेर सिलोक गाउँदै
सुमधुर स्वर भरिदिएकी थिइन् गलामा
आँगन डिल लगेर क्षितिज देखाउँदै
रमणीय दृष्य छरिदिएकी थिइन् आखाँमा
मुटुभरि माया
ओठभरि हाँसो भरिदिएर
अघि बढ्ने बाटो
देखाइदिएकी थिइन् आमाले ।
उदास अनुहारमा बहार छाइदिने
नीरस जीवनमा प्रेमको खेती गर्ने
रहर थियो ।
घामको भारी बोकेर हिँड्दा–हिँड्दै
लुटियो मैले गाउने गीतको भाका
भत्काइयो थाकेको बेला बिसाउने शीतल चौतारी ।
मेरो मुटु निचोरेर कैद गरियो
ओठबाट फुत्किनै लागेको मुस्कान
यतै कतैबाट मेरो हातको इन्द्रधनुष खोसेर
नजरमा फालिएको हो तुवाँलो
यहीँबाट कोही कसैले लुटेर मेरो आँसु
झोसिएको हो परेलीमा आगो ।
त्यही आगोको ज्वाला लिएर निस्कदैछु
यति विघ्न फैलिएको ऐझेरु जलाएर
सिर्जनाको फूल रोप्न ।