पार्वतीले गणेश बनाएझैँ
कुन्तीले कर्ण र पञ्चपाण्डव जन्माएझैँ
हाम्रा ऋषिमुनि, देवीदेवताले मानससन्तानको
वरदान दिएझैँ - पाएझैँ
म पनि चाहेमा - सकेमा - पाएमा
आफ्नो सन्तान बनाउनेछु - जन्माउनेछु - ल्याउनेछु ।
हुन सक्छ, सृष्टिले अब
तिम्रो वीर्य र मेरा रज लिएर
जम्मा गर्ला कतै
हुन सक्छ, शिशुका लागि गर्भ पनि
बनाइएला यसै गरी अरू कतै
र आवश्यकतानुसार स्वस्थ सन्तानको सिर्जना गरेर
तिनलाई हुर्काउन र माया गर्न ल्याउनेछौँ हामी ।
तिमी पति भएर पनि
पिता नहोलाऊ त्यो सन्तानको
तिमी प्रेमी भई
पिता पनि बन्लाऊ उसको
अनि त्यो पिता
कुनै अज्ञात पुरुष पनि हुन सक्छ
खाली वीर्य उपहार दिने मलाई
जसको खोज म स्वयं गर्ने छैन कहिल्यै ।
सम्बन्धको नयाँ मोडमा
उभिएका छौँ आज हामी सबै ।
सम्भोग त खाली शारीरिक आकर्षण हो
सृष्टिको उत्तरदायित्व नसुम्प यसलाई
अरू आवश्यकता सरह स्वीकार त्यसलाई
तर हामी जनावर पनि हैनौँ
त्यसैले यो मनलाई रोज्न देऊ
वासनाको स्तर आफ्नो ।
म जुका भई टाँसिन चाहन्नँ
आफ्नो अस्तित्वको लागि तिमीसित अब
ग्लानिको आगोमा सल्किएर
खरानी हुँदो छ मेरो त्यो व्यक्तित्व ।
उन्मादको क्षणमा पाएको
एक थोपा वीर्यलाई
तिम्रो वंशको टीका लगाउने अभिभारा पनि
म बोक्न चाहन्नँ
मेरो वंशको फैसला गर्नु छ मलाई आज ।
थाहा छ मलाई, तिम्रो अहंले स्वीकार्न सकोइन
मेरो यस्तो समर्थ र स्वतन्त्र अस्तित्व
तर मैले मेरो भविष्यको क्षितिज देखिसकेँ
मेरो आवश्यकता बुझिसकें ।
म मेरो सम्बन्धको आधार
आफैँ तोक्नेछु ।
चाहिएमा म तिम्रो मात्र हैन
आफ्नो लागि मेरो मानससन्तान हुर्काउनेछु ।
तिम्रो सन्तानले यो सृष्टि चल्यो यहाँसम्म
मेरोले के अन्त्य गर्ला त यसलाई यहीँ ।
०००
..................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।