Last modified on 23 जुलाई 2017, at 16:37

ऋतु वसन्त नआएको भए / भीमदर्शन रोका


ऋतु वसन्त नआएको भए
तिमीले गीत मेरो नगाएको भए
गुराँस यति रातो हुने थिएन
तिमी यसरी नशर्माएको भए !

धर्तीले छातीमा फूल नलाएको भए
छहरामा लहराले चुल्ठी नबाटेको भए
यो वसन्तमा म के पाउने थिएँ ?
पोहर वसन्तमा तिमीले क्यै नलुकाएको भए !

वनले बस्ती नछोएको भए
मनमा मस्ती नआएको भए
फूलको प्याला रित्तिने थिएन
तिमीले यसरी नपियाएको भए !